गृहपृष्ठ काठमाडौं–४ को ११२ रोपनी जग्गा सरकारको नाममा

काठमाडौं–४ को ११२ रोपनी जग्गा सरकारको नाममा


असाेज २०,२०८३
बुटवल टाइम्स

काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को २०५२ सालको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ।
रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका रूपमा औंल्याइएका जग्गा संरक्षण गरी सरकारको नाममा कायम गर्ने निर्णयअनुसार भूमि प्रशासन कार्यालय, डिल्लीबजारले काठमाडौं–४ स्थित उक्त जग्गाको प्रतिवेदनमा उल्लेखित क्षेत्रफल कट्टा गरी नेपाल सरकारको नाममा कायम गरेको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले रावल आयोगको प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरिएका कित्ताबाट अतिक्रमित क्षेत्रफल एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढाएको छ।
प्रतिवेदन कार्यान्वयनका लागि प्रमुख नापी अधिकृत रमेश ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव, सम्बन्धित भूमि प्रशासन तथा नापी कार्यालयका प्रमुख, स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत तथा नापी विभागका नापी अधिकृत सदस्यसचिव रहेका छन्।
रावल आयोगले २०५२ सालमा सरकारी तथा सार्वजनिक जग्गाको अवस्था अध्ययन गरी अतिक्रमित तथा व्यक्तिका नाममा दर्ता भएका सरकारी एवं सार्वजनिक जग्गा पहिचान गर्दै संरक्षणका लागि सुझावसहित प्रतिवेदन दिएको थियो।
लामो समयदेखि कार्यान्वयनमा आउन नसकेको उक्त प्रतिवेदनलाई सरकारले अहिले कार्यान्वयनमा ल्याउँदै आयोगले औंल्याएका सरकारी तथा सार्वजनिक जग्गाको छानबिन गरी सरकारको नाममा कायम गर्ने प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु