गृहपृष्ठ ऐन जारी नगरेसम्म वार्ता निषेध: शिक्षक महासंघको अडान
ऐन जारी नगरेसम्म वार्ता निषेध: शिक्षक महासंघको अडान
२९ चैत, काठमाडौं।
देशभरबाट आएका शिक्षकहरूले काठमाडौंमा सडक आन्दोलन सुरु गरेको नवौँ दिन भइसकेको छ, तर सरकारले उनीहरूसँग सहमति जुटाउन सकेको छैन। शिक्षक महासंघको नेतृत्वमा आन्दोलनरत शिक्षकहरूले शिक्षा ऐन यथाशिघ्र जारी गर्न माग गरेका छन्।
सरकारले वार्ताका लागि पटक-पटक आह्वान गरे पनि महासंघले शिक्षा ऐन जारी गर्ने सुनिश्चितता नभएसम्म वार्तामा नजाने अडान लिएको थियो। तर बिहीबार महासंघका सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा शिक्षा मन्त्रालयमा वार्ता भए पनि कुनै ठोस सहमति जुट्न सकेन।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, “राज्यका सञ्चालकहरूमा देखिएको आलस्य, शिक्षाप्रतिको गैरजिम्मेवारीपन तथा संवेदनहीनता विरुद्ध हामी संघर्षमा छौं। विद्यालय शिक्षा सुधार गर्दै यसलाई नयाँ दिशातर्फ लैजाने हाम्रो महाअभियान हो।”
महासंघले ऐन जारी गर्न तीन विकल्प प्रस्ताव गरेको छ —
-
विगतका सहमति कार्यान्वयन गर्दै ऐन जारी गर्ने,
-
विशेष वा बर्खे अधिवेशन बोलाउने,
-
अध्यादेशमार्फत ऐन जारी गर्ने।
वार्तामा सरकारको तर्फबाट शिक्षा मन्त्री विद्या भट्टराईको नेतृत्वमा टोली सहभागी थियो। सरकारले वार्ता र संवाद जारी राख्न आग्रह गरे पनि महासंघले ऐनको सुनिश्चितता बिना वार्तामा नबस्ने स्पष्ट पारेको छ।
“हामी आन्दोलन गर्न चाहँदैनौं, तर बाध्य भएका छौं,” सहअध्यक्ष पराजुलीले भनिन्। “सरकारले तीनमध्ये कुनै एक उपायबाट ऐन ल्याउने वातावरण बनायो भने मात्र वार्ता अगाडि बढने छ ।










