गृहपृष्ठ रसुवा बाढीपछि ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति

रसुवा बाढीपछि ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति


 

भदाै ३१,२०८३

बुटवल टाइम्स

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित विपद् व्यवस्थापनका लागि सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको छ ।

बुधबार बसेको सर्वदलीय बैठकले विपद्पछिको उद्धार, राहत, पुनर्स्थापना तथा दीर्घकालीन नीतिगत सुधारका लागि सर्वदलीय संयन्त्र गठन गर्ने समयसीमा तोकेको हो ।

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बैठकमा सात दिनभित्र संयन्त्र गठन गर्ने विषयमा सहमति भएको जानकारी दिए । उनका अनुसार विपद्को विषयमा संसदीय समितिमार्फत छानबिन गर्ने विषयमा समेत छलफल भएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग शाहीले भने, ‘अबको सात दिनभित्र सर्वदलीय संयन्त्र बन्ने कुरा भएको छ । संसदीय समितिले छानबिन गर्ने कुरा पनि भएको छ।’

बैठकमा ‘सनसेट ल’ लागू गर्ने विषयमा समेत छलफल भएको उनले बताए ।

रसुवामा भदौ १० गते विनाशकारी बाढी आएपछि भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्न प्रस्ताव गरेका थिए ।

त्यसक्रममा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी बैठकले उद्धारदेखि पुनर्स्थापनासम्म सरकारलाई सहयोग गर्ने गरी सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठनको प्रस्ताव अघि सारेको थियो ।

लामिछानेको प्रस्तावमा दलहरू सहमत भएपछि बैठकले १० बुँदे संकल्पसमेत जारी गरेको थियो । संकल्पको १०औँ बुँदामा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति गठन गर्ने उल्लेख थियो ।

त्यस्तो संयन्त्रले विपद्को समयमा उद्धार तथा राहतमा सहजीकरण गर्नुका साथै विपद्पूर्व तयारी, दिगो विकास र नीतिगत सुधारका विषयमा राष्ट्रिय सहमति निर्माण गर्न भूमिका खेल्ने बताइएको थियो ।

यसअघि भदौ १६ गते बसेको सर्वदलीय बैठकले पनि संयन्त्र गठन गर्ने सहमति गरेको थियो । तर, त्यसबेला संयन्त्र गठन हुन सकेको थिएन । बुधबारको बैठकले भने सात दिनभित्र संयन्त्र गठन गर्ने समयसीमा नै तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु