गृहपृष्ठ माेवाइलकाे स्क्रिनले छाेपेकाे चाडपर्वकाे आत्मीयता : कल्पना न्याैपाने
माेवाइलकाे स्क्रिनले छाेपेकाे चाडपर्वकाे आत्मीयता : कल्पना न्याैपाने
भदौ २९, २०८३
बुटवल टाइम्स
बुटवल । साँझ पर्दै छ । पश्चिमी क्षितिजमा सूर्य डुब्दै गर्दा पहिले–पहिले घरको आँगनमा एउटा अलग्गै रौनक छाउँथ्यो। दिनभरिको थकान बिर्साउने बाफिँदो चियाको बास्ना, बुबाका अनुभवले भरिएका गफ, आमाको मायालु हँकाइ र आँगनभरि गुञ्जने बालबालिकाका खित्का—यी सबैले साँझलाई आत्मीय बनाउँथे। गट्टा, चुंगी र टाकुरे खेल्दै धूलोमैलो भएका हातहरूले सिरकको न्यानो खोजेझैँ, साँझले सिङ्गो परिवारलाई एउटै धागोमा बाँध्थ्यो।
आँगनमा रोटेपिङ र लिङ्गेपिङ ठड्याइने, रातो माटो र कमिलोले घर–आँगन पोतिने दृश्यसँगै अब दशैँ–तिहारको सुवास ढोकामै आइपुगेको छ। टाढा–टाढा पुगेका परिवारका सदस्यहरू वर्षभरिको थकान बिर्सेर एउटै छानामुनि भेटिने, पिङको मच्चाइमा खुसी साट्ने र टीका–जमरासँगै मान्यजनको आशीर्वाद लिने यो पुनर्मिलनको पवित्र समय हो।
तर, आजको साँझ र आउँदै गरेका यी चाडपर्वहरू पहिलेभन्दा अर्कै देखिन थालेका छन्। अँध्यारो त ढलेको छ, तर चाडपर्वको आँगनमै सम्बन्धहरूमा एउटा चिसो मौनता छाउन थालेको छ।
वर्षौँपछि दशैँ मान्न घर फर्किएका दाइ, विदेशबाट आएका बुबा र घरमै रहेका आमा–छोराछोरी एउटै कोठामा, एउटै गुन्द्री वा ओछ्यानमा लहरै बस्छन्। तर आत्माहरू भने आ–आफ्नै नीलो स्क्रिनको काल्पनिक दुनियाँमा हराइरहेका हुन्छन्। बुबा फेसबुकको अनन्त स्क्रोलिङमा टोलाइरहनुभएको हुन्छ, आमा टिकटकका छोटा–छोटा भिडियोभित्र आफ्नो एकाकीपन भुल्ने प्रयास गरिरहनुभएको हुन्छ। छोरा युट्युबको संसारमा व्यस्त हुन्छ भने छोरी इन्स्टाग्राममा अरूका ‘पर्फेक्ट’ दशैँका तस्बिर हेरेर आफ्नै वास्तविकतासँग तुलना गरिरहेकी हुन्छिन्।
चाडपर्व आयो, घरमा मानिसहरूको भीड पनि भयो, तर त्यही छानामुनि गुञ्जने पुराना दिनको जस्तो आत्मीय संवाद र हाँसो भने कतै बिलाएको छ।
अहिले चाडबाडमा पनि मानिसहरू एउटै टेबुलमा बसेर परिकार खान्छन्, तर एकअर्काको आँखामा हेरेर गफिन बिर्सन्छन्। टीका लगाइदिने हातहरूभन्दा टीका लगाएको ‘फोटो’ र ‘रिल्स’ कसरी उत्कृष्ट बनाउने भन्ने ध्याउन्न बढी देखिन्छ। प्रविधिले हजारौँ माइल टाढा रहेका अपरिचितहरूलाई नजिक ल्याइदिएको छ, तर वर्षमा एकपटक भेट्न आएका आफ्नै दाजुभाइ, दिदीबहिनी र आमाबुबालाई भने कोसौँ टाढा धकेलिदिएको छ।
सामाजिक सञ्जालमा ‘ह्याप्पी दशैँ/तिहार’का शुभकामना र ‘लाइक्स’को संख्या हजारौँ हुन्छ, तर छेवैमा बसेका वृद्ध आमाबुबाको मनको बह सुन्ने समय भने कसैसँग हुँदैन। कस्तो विडम्बना! मानिसहरूको भीड र चाडपर्वकै बीचमा बसेर पनि मानिस आज इतिहासकै सबैभन्दा एक्लो प्राणी बन्दै गएको छ।
हो, प्रविधिलाई सरापेर मात्र पुग्दैन। युवापुस्ताका लागि यो स्क्रिन केवल मनोरञ्जनको साधन मात्र होइन, सपना बुन्ने क्यानभास पनि बनेको छ। यही नीलो प्रकाशको सहाराले धेरैले आफ्नो प्रतिभा संसारसामु पुर्याएका छन्, साना व्यवसायहरूले पखेटा हालेका छन् र गाउँको कुनामा बसेर विश्वसँग जोडिने ढोका खुलेको छ।
समस्या प्रविधिमा होइन, त्यसको प्रयोगमा छ। प्रश्न मोबाइल चलाउने कि नचलाउने भन्ने होइन; प्रश्न यति हो—मोबाइलको स्क्रिनले हाम्रो सम्बन्धलाई नियन्त्रण गरिरहेको छ कि हामीले त्यसलाई?
चाडपर्व भनेको नयाँ लुगा, मीठा परिकार, टीका–जमरा र सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्ने अवसर मात्र होइन। यो त टाढिएका मनहरूलाई नजिक ल्याउने, पुराना गुनासा भुल्ने, बुढा आमाबुबासँग केहीबेर बसेर उनीहरूका कुरा सुन्ने र बालबालिकासँग आँगनमा रमाउने समय हो।
त्यसैले यसपालिको दशैँ–तिहारमा मोबाइलको उज्यालो केहीबेर कम गरौँ। स्क्रिनभन्दा अगाडि बसेका आफ्नै मानिसहरूको अनुहार हेरौँ। फेसबुकको स्टाटसभन्दा आमाबुबाको मुस्कान पढौँ, टिकटकको भिडियोभन्दा परिवारको हाँसो सुनौँ र इन्स्टाग्रामका तस्बिरभन्दा आफ्नै आँगनका खुसीहरूलाई सम्झनामा कैद गरौँ।
किनकि प्रविधिले हामीलाई संसारसँग जोड्न सक्छ, तर सम्बन्धलाई जीवित राख्ने काम भने हाम्रो समय, संवाद र सामिप्यताले मात्र गर्छ।

















