गृहपृष्ठ कार्यशैली नबदले एमाले ‘स्कुटरमा अट्ने” हुने :सुरेन्द्र पाण्डे”

कार्यशैली नबदले एमाले ‘स्कुटरमा अट्ने” हुने :सुरेन्द्र पाण्डे”

oplus_8388608

चैत ७ ,२०८२
गुनाराम घिमिरे

रूपन्देही — नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अहिले निर्णायक मोडमा पुगेको बताएका छन्। उनले पार्टी “सच्चिने कि सक्किने ” अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै अब गम्भीर आत्मसमीक्षा र सुधार आवश्यक रहेको बताए।

बुटवलमा आयोजित ‘अबको राजनीतिक अवस्था’ विषयक अन्त्रकिर्यात्मक कार्यक्रममा बोल्दै पाण्डेले पार्टीभित्र संरचनागत समस्या, मतदाताको मनोविज्ञान तथा नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाए। “सच्चिने अन्तिम मौका छ, तर धेरै ढिला भइसकेको छ,” उनले भने।

पछिल्लो निर्वाचनको समीक्षा गर्दै उनले प्रविधि र पहुँचको प्रभावसमेत औंल्याए। इन्टरनेट पहुँच भएका क्षेत्रमा मत परिवर्तन भएको तर अन्य ठाउँमा पुरानै आधार कायम रहेको उनको भनाइ थियो।

यस सन्दर्भमा उनले भोट र टिकटबीचको सम्बन्धलाई पनि गम्भीर रूपमा लिनुपर्ने बताए। “जसको हातमा ‘नेट’ टाढा छ, त्यसको नतिजा पनि टाढा छ भन्ने अवस्था देखिएको छ,” उनले संकेत गरे। पार्टीभित्र ‘म दिने हो, उनीहरु माग्ने र खाने हो’ भन्ने प्रवृत्तिले निर्णय प्रक्रियामा विकृति ल्याएको भन्दै उनले विचार निर्माण व्यक्तिबाट हुने र नेतृत्वको भूमिकाले त्यसलाई दिशा दिने उल्लेख गरे। समस्या जडसम्म पुगेर विश्लेषण गरियो भने मात्र समाधान सम्भव हुने उनको धारणा थियो।

पाण्डेले पार्टीले सही दिशा नलिए गम्भीर संकट निम्तिन सक्ने चेतावनी दिए। “अब कुराले परिवर्तन हुँदैन, कार्यशैली नै फेर्नुपर्छ,” उनले जोड दिए।

मतदाता व्यवहारबारे उनले चिन्ता व्यक्त गर्दै युवादेखि ज्येष्ठसम्मको समर्थन घट्दो क्रममा रहेको बताए। ३० वर्षमुनिका युवाले अपेक्षाअनुसार समर्थन नगरेको, ६० वर्षमाथिकाले समेत समर्थन नगरेको र बीच उमेर समूहका धेरै विदेशमा रहेका कारण परिणाम प्रभावित भएको उनले विश्लेषण गरे।

महोत्तरी र धनुषा जिल्लाको उदाहरण दिँदै उनले समस्या सतही नभई संरचनागत रहेको दाबी गरे। “यो सम्पूर्ण रूपमा सुधार नगरे पार्टी कमजोर बन्छ,” उनले भने।

नेतृत्वले कमजोरी स्वीकार गर्नुपर्नेमा जोड दिँदै पाण्डेले आत्मसन्तुष्ट प्रवृत्ति पार्टीका लागि घातक हुने टिप्पणी गरे। “हामीले नगरे अरूले अवसर लिन्छन्,” उनले चेतावनी दिदै भने यदि अझै पनि कार्यशैली परिवर्तन नगरे अर्को चुनाव सम्ममा एमाले पार्टी स्कुटरमा अट्ने बन्छ।
उनको भनाइले पार्टीभित्र व्यापक सुधार र आत्ममूल्यांकनको आवश्यकता औंल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु