गृहपृष्ठ नेपालको वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा: मसाल

नेपालको वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा: मसाल

oplus_8388608

चैत ८ २०८२
कल्पना घिमिरे

बुटवल — नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर मोडमा पुगेको बताएका छन्। बुटवलमा आयोजित पत्रकार सम्मेलन गर्दै उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई “अमेरिकी रणनीति” को प्रभावमा आएको दाबी गरे।

उनले निर्वाचन प्रक्रिया नेपालको आवश्यकता, संविधानको मर्म र जनताको चाहना अनुसार नभई बाह्य शक्तिको योजनाअनुसार अघि बढाइएको आरोप लगाए। “यो शुद्ध जनमत होइन, जनतालाई भ्रममा पारिएको परिणाम हो,” उनले भने।

सिंहले संसद् विघटनदेखि पुनः निर्वाचन र सरकार निर्माणसम्मका गतिविधि योजनाबद्ध रूपमा अघि बढाइएको दाबी गर्दै त्यसबाट कठपुतली सरकार निर्माणको आधार तयार गरिएको टिप्पणी गरे।

उनले चैत २३ र २४ गते देशभर भएका आन्दोलनलाई भ्रष्टाचार, सामाजिक अन्याय र विसंगतिविरुद्धको जनअसन्तोषको अभिव्यक्ति भने पनि स्पष्ट नेतृत्व र राजनीतिक दिशाको अभावमा ती आन्दोलनलाई अवसरवादी शक्तिहरूले “हाइज्याक” गरेको आरोप लगाए। युवाहरूको सहभागिता सकारात्मक भए पनि आन्दोलनलाई दुरुपयोग गरिएको उनको भनाइ थियो।

एमसीसीजस्ता परियोजनामार्फत नेपालमा विदेशी प्रभाव विस्तार गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले त्यसले राष्ट्रिय स्वाधीनता र दीर्घकालीन हितमा नकारात्मक असर पार्ने चेतावनी दिए।

साथै, आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानबिनका लागि गठन गरिएको आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोप्रति असन्तुष्टि जनाउँदै उनले दोषीमाथि निष्पक्ष र कडा कारबाही गर्न माग गरे।

कार्यक्रममा नेता चित्रबहादुर केसीले पनि वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक संरचनामाथि भएका आक्रमणका घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताए। उनले बाह्य प्रभावका कारण राजनीतिक असन्तुलन बढेको आरोप लगाउँदै देशलाई अस्थिरताबाट जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे।

नेकपा (मसाल) ले समग्रमा वर्तमान अवस्थालाई राष्ट्रिय स्वाधीनता, पारदर्शिता र जनहितका लागि चुनौतीपूर्ण भन्दै बाह्य प्रभावबाट मुक्त नीति अवलम्बन गर्न सबै पक्षलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु