गृहपृष्ठ मधेशबाट देश बदल्ने कांग्रेस सभापति थापाको प्रतिवद्धता”

मधेशबाट देश बदल्ने कांग्रेस सभापति थापाको प्रतिवद्धता”


६ फागुन २०८२

जनकपुरधाम, २०८२ – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेसले अब देशको नेतृत्व सम्हाल्दै कुशासन अन्त्य गर्ने प्रतिज्ञा गरेका छन्।

जनकपुरधामस्थित तिरूहुतिया गाछीमा आयोजित प्रतिज्ञासभामा सभापति थापाले कांग्रेस सबैलाई समेटेर अघि बढ्न सक्षम रहेको दाबी गरे। उनले मधेशबाट देश परिवर्तन गर्ने साहस र अठोट लिएर अघि बढेको उल्लेख गर्दै संघीयताको प्रभावकारी कार्यान्वयनमा मधेशको निर्णायक भूमिका रहने बताए।

“अब मधेशले देशको संघीयतालाई कार्यान्वयन गराउन जरूरी छ। यहाँ नेतृत्व लिन सक्ने शिक्षा, स्वास्थ्य, विज्ञान र सूचना प्रविधिको आधार छ,” उनले भने।

सभापति थापाले मधेशलाई ज्ञानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ कांग्रेस मधेश झरेको स्पष्ट पारे। उनले मधेशका शिक्षकको योगदानलाई स्मरण गर्दै भने, “मधेशको शिक्षा नभएको भए पहाडमा गणित राम्रोसँग पढाइ हुन्नथ्यो। तर आज मधेशको शिक्षा, स्वास्थ्य र विज्ञानको अवस्था जरजर छ।”

कृषक, विशेषगरी उखु किसानको समस्या, वातावरणीय संकट र खानेपानी अभाव समाधानका लागि आफू मधेश आएको उनले बताए। मधेशलाई सिंगो देशलाई पाल्न सक्ने आर्थिक शक्ति बनाउने प्रतिवद्धता उनले व्यक्त गरे।

विदेशमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक परे दूतावास र कर्मचारी व्यवस्थापन गरी राज्यले जिम्मेवारी लिने पनि उनले घोषणा गरे।

मधेशको वित्तीय संरचना अस्तव्यस्त भएको उल्लेख गर्दै उनले सहकारी ठगी नियन्त्रणलाई प्राथमिकतामा राख्ने बताए। “यहाँ सहकारी ठगहरूको विगबिगी बढेको छ, अब उनीहरूलाई तह लगाइन्छ,” उनले चेतावनी दिए।

युवाहरूको आकांक्षालाई सम्बोधन गर्दै सभापति थापाले मधेशमा क्रिकेट एकेडेमी स्थापना गर्ने योजना सार्वजनिक गरे। उनले आफू मधेशको ‘बेटा’ बन्न आएको र यहाँका ऐतिहासिक व्यक्तित्वबाट प्रेरणा लिएको बताए।

अन्तमा उनले भने, “अब हामी मत मात्र होइन, विश्वास र भरोसा लिन आएका छौं। देशलाई सँगसँगै हिँडाउन र परिवर्तन देखाउन कांग्रेस तयार छ। कांग्रेस युवाहरूको साझा पार्टीका रूपमा स्थापित हुँदै उनीहरूको सपना पूरा गर्ने अभियान सुरु गरेको छ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु