गृहपृष्ठ प्रजातन्त्र दिवसले दिगो शान्ति र समृद्धिमा टेवा पुर्‍याओस् : राष्ट्रपति पौडेल

प्रजातन्त्र दिवसले दिगो शान्ति र समृद्धिमा टेवा पुर्‍याओस् : राष्ट्रपति पौडेल


७ फागुन २०८२

काठमाडौँ, फागुन ७ । रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सबैलाई एकताबद्ध भएर लाग्न आह्वान गरेका छन्।

आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा योगदान दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि संघर्ष गर्ने अग्रजहरूप्रति सम्मान प्रकट गरेका छन्।

राष्ट्रपति पौडेलले संविधान, लोकतन्त्र र जनताले चाहेको सुशासन तथा तीव्र विकासको बाटो पहिल्याउन सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरेका छन्। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्नु सबैको साझा दायित्व भएको बताउँदै त्यसमा सक्रिय सहभागिताका लागि अपिल गरेका छन्।

शुभकामना सन्देशमा विसं २००७ सालको क्रान्तिलाई नेपालको लोकतान्त्रिक इतिहासको महत्त्वपूर्ण उपलब्धिका रूपमा स्मरण गरिएको छ। निरङ्कुश शासनविरुद्धको बलिदानीपूर्ण संघर्षबाट मानवअधिकार तथा नागरिक स्वतन्त्रता स्थापित भएको उल्लेख गर्दै प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिएको जनाइएको छ।

राष्ट्रपति पौडेलले लामो संघर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। सुशासनमार्फत विकास र समृद्धि हासिल गर्नु नै वर्तमान व्यवस्थाको मूल लक्ष्य भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु