गृहपृष्ठ बालेन्द्र शाहको सुदूरपश्चिममा चुनावी सम्बोधन: ‘‘भोट होइन, काम दिनू’
बालेन्द्र शाहको सुदूरपश्चिममा चुनावी सम्बोधन: ‘‘भोट होइन, काम दिनू’
६ फागुन २०८२
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ले पहिलो चुनावी भाषण दिएका छन्। बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संक्षिप्त मन्तव्य व्यक्त गरेका हुन्।
झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका शाहले रास्वपा भोट माग्न नभई काम माग्न आएको बताएका छन्। ‘राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न आएको हैन, काम माग्न आएको हो। तपाईंहरूले भोट नदिए पनि काम गर्छ। तपाईंहरूले भोट दिनु भएन भने पनि सुदूरपश्चिममा काम गर्छ। तपाईंहरूले काम दिनू,’ उनले भने।
नेपाल आफैं सुन्दर देश भएको उल्लेख गर्दै उनले ‘माल पाएर चाल नपाएको’ टिप्पणी गरे। ‘नेपाल आफैं स्विजरल्यान्डजस्तै सुन्दर छ, फेरि किन स्विजरल्यान्ड बनाउनुपर्यो?’ भन्दै उनले विकासको मौलिक मोडेल आवश्यक रहेको धारणा राखे।
रास्वपाबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका शाहले आफू धेरै नबोल्ने बताउँदै छोटकरीमा मन्तव्य टुंग्याएका थिए।










