गृहपृष्ठ रोजगारी सिर्जना र आर्थिक सुधार रास्वपाकाे मुख्य एजेन्डा : शिशिर खनाल
रोजगारी सिर्जना र आर्थिक सुधार रास्वपाकाे मुख्य एजेन्डा : शिशिर खनाल
Oplus_16908288
१८ माघ २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनमा रोजगारी र मध्यम वर्गीय परिवारलाई केन्द्रमा राखेर पार्टीको घोषणापत्र ल्याइने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘दलको घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै खनालले जेन–जी आन्दोलनपछि मुख्य माग रोजगारी नै भएको उल्लेख गर्दै पार्टीको पहिलो प्राथमिकता त्यसैमा रहने बताए। उनले रोजगारी सिर्जना गर्न निजी क्षेत्रलाई सहज हुने गरी कानुनी संरचना तयार गरिने बताए।
उदार अर्थतन्त्रमा विश्वास गर्ने रास्वपाले त्यसमा सामाजिक न्यायको अवधारणा जोडेको खनालको भनाइ छ। पर्यटन क्षेत्रको विकासका लागि कनेक्टिभिटी सुधार गर्नुपर्नेमा जोड दिँदै उनले प्रविधि र जलविद्युतलाई प्राथमिकतामा राखेर आर्थिक विकास अघि बढाइने बताए। उनका अनुसार पार्टीले आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्य लिएको छ।
मध्यम वर्गीय परिवारलाई लक्षित गर्दै सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक रहेको उनले बताए। साथै, सुशासन विना अर्थतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै नियामक निकायमा हुने हस्तक्षेप रोक्न र नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिए।
पूर्वाधार क्षेत्रमा ठुलो लगानी आवश्यक रहेको बताउँदै खनालले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको जानकारी दिए। विदेशमा रहेका नेपालीलाई स्वदेशमै लगानी गर्न अनुकूल वातावरण बनाउन सकिने उनले बताए।
राजनीतिक घोषणापत्र कार्यान्वयनका लागि एउटै दलको बहुमत आवश्यक पर्ने धारणा राख्दै खनालले बहुदलीय गठबन्धन र अस्थिर सरकारका कारण घोषणापत्र कार्यान्वयनमा समस्या आउने बताए। “सरकारले चाहेको खालको मात्र कानुन बन्ने अवस्था हुँदा एउटै दलको बहुमत भए मात्र घोषणापत्र प्रभावकारी रूपमा लागू हुन सक्छ,” उनले भने।









