गृहपृष्ठ औद्योगिक प्रदर्शनीमा शनिबार एकै दिन ७५ हजार अवलोकनकर्ता, कारोबार र चहलपहल उच्च
औद्योगिक प्रदर्शनीमा शनिबार एकै दिन ७५ हजार अवलोकनकर्ता, कारोबार र चहलपहल उच्च
पुस १२, २०८२
बुटवल । बुटवलमा जारी १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवले शनिबार ऐतिहासिक सहभागिता दर्ज गरेको छ। प्रदर्शनीको नवौँ दिन शनिबार मात्रै करिब ७५ हजार अवलोकनकर्ताले प्रदर्शनी अवलोकन गरेका छन्, जुन अहिलेसम्मकै एकै दिनको सबैभन्दा बढी सहभागिता हो।
रुपन्देही उद्योग संघद्वारा पुस ३ गतेदेखि १७ गतेसम्म आयोजना गरिएको प्रदर्शनीमा अवलोकनकर्ताको अत्यधिक चापका कारण नियमित काउन्टरसँगै अतिरिक्त टिकट काउन्टर सञ्चालन गर्नुपरेको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिनुभयो। संघका कोषाध्यक्ष विशाल वेलवासेका अनुसार एकै दिन ठूलो संख्यामा दर्शक आएपछि स्टलहरूमा पनि उल्लेख्य आर्थिक कारोबार भएको छ।
पुसको पहिलो सातादेखि बुटवलमा हुस्यु र चिसो बढे पनि त्यसको प्रभाव प्रदर्शनीमा देखिएन। शनिबार बिहानदेखि चिसो हुस्यु लागे पनि राती अबेरसम्म प्रदर्शनी स्थल खचाखच रहेको थियो।
संघका सचिव मन्जु भुसालका अनुसार शनिबार दिनभर सबै स्टलहरूमा राम्रो कारोबार भयो। विशेषगरी महिला उद्यमीका उत्पादनप्रति अवलोकनकर्ताको आकर्षण बढी देखिएको र तिनको बिक्रीसमेत राम्रो भएको उहाँले बताउनुभयो।
संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीका अनुसार प्रदर्शनीको उद्देश्य स्वदेशी उत्पादनको प्रवर्द्धन, उद्योगी–उपभोक्ता प्रत्यक्ष सम्पर्क, बजार विस्तार तथा गुणात्मक प्रतिस्पर्धाको विकास गर्नु हो। साथै उद्योगीहरूबीच समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने थलोका रूपमा पनि प्रदर्शनी सञ्चालन गरिएको उहाँले बताउनुभयो।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको प्रदर्शनीमा ८ लाख अवलोकनकर्ता भित्र्याउने र ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ। प्रदर्शनीलाई आकर्षक बनाउन लोकदोहोरी प्रतियोगिता, सांगीतिक कार्यक्रम, हास्य प्रस्तुति, विद्यालयस्तरीय प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिएको छ।










