गृहपृष्ठ प्रतिनिधि सभा निर्वाचन: कांग्रेस–एमालेसहित ६८ दल आयोगमा दर्ता
प्रतिनिधि सभा निर्वाचन: कांग्रेस–एमालेसहित ६८ दल आयोगमा दर्ता
मंसिर ९, २०८२
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म ६८ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्।
निर्वाचन आयोगका प्रवक्ता महादेव पन्थका अनुसार मंगलबारसम्म कुल ६८ दलले निर्वाचन प्रयोजनका लागि दर्ता पूरा गरिसकेका छन्।
आयोगले निर्वाचनमा भाग लिन इच्छुक दलहरूको दर्ता मंसिर १० गतेसम्म खुला गरेको छ।नेकपा एमाले र नेपाली कांग्रेसले पनि निर्वाचन आयोगमा दर्ता गरेको छ।
एमालेले एकातिर प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ भने अर्कोतिर आगामी निर्वाचनका लागि दल दर्ता पनि गरेको छ।
एमाले नेताहरूका अनुसार उनीहरूको मुख्य एजेन्डा “प्रतिनिधि सभा पुनर्स्थापना” नै हो।
बाँकी दलहरूलाई पनि दर्ता हुन आग्रह
प्रवक्ता पन्थका अनुसार दर्ता गर्न चाहने बाँकी दलहरूले बुधबार (मंसिर १०) भित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ।
उनले भने, “बाँकी समयमा अन्य दलहरूले पनि दर्ता भएर प्रतिस्पर्धामा सहभागी हुने आयोगले अपेक्षा गरेको छ।”पन्थले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल भइरहेको जानकारी दिए।
उनका अनुसार विदेशी नेपाली मताधिकारसम्बन्धी कानुन बनेपछि मात्र प्रक्रिया अघि बढ्नेछ।










