गृहपृष्ठ मोतिपुर–सेमलार खानेपानीमा रास्वपाको पूर्ण विजय, कांग्रेस–एमाले गठबन्धन पराजित

मोतिपुर–सेमलार खानेपानीमा रास्वपाको पूर्ण विजय, कांग्रेस–एमाले गठबन्धन पराजित


कार्तिक २९, २०८२

कल्पना घिमिरे

 बुटवल । बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्यानलले नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनलाई पराजित गर्दै क्लिनस्वीप गरेको छ।शुक्रबार राति सम्पन्न मतगणना अनुसार रास्वपा प्यानलले १४ सदस्यीय कार्यसमितिमध्ये उपाध्यक्ष, सहसचिव र एक सदस्य बाहेक सबै पदमा विजय हासिल गरेको हो।


‘१० मत पनि नपाउने दल’ भनेर होच्याइयो

निर्वाचित सचिव मधुप्रसाद घिमिरेले दलगत सिन्डिकेट विरुद्ध उभिएर चुनावी प्रतिस्पर्धा गरिएको बताए।

“हामीले पहिले नै उपभोक्ता संस्थामा सबै दलको सहमतिमा नेतृत्व चयनको प्रस्ताव राखेका थियौँ। तर ‘रास्वपालाई १० मत पनि नपाउने दल’ भनेर होच्याएर कांग्रेस-एमाले गठबन्धनले सहमति नस्वीकारेपछि प्रतिस्पर्धामा उत्रिएको हो,” — घिमिरेले भने।

उनका अनुसार यसपालि रास्वपालाई कुनै दलगत समर्थन नभएर परिवर्तन चाहने उपभोक्ताको साथ रहेको थियो।


चुनावी परिणाम

निर्वाचन समितिका संयोजक अधिवक्ता जोखबहादुर खत्रीका अनुसार अध्यक्षमा रास्वपाका कृष्ण थापा ८८ मत ल्याएर विजयी भए भने गठबन्धनका नरबहादुर मल्ल ७५ मतमा सीमित रहे।

वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर पौडेल, उपाध्यक्षमा शंकर पौडेल, सचिवमा मधुप्रसाद घिमिरे, कोषाध्यक्षमा छत्रबहादुर खत्री र सहसचिवमा पृथबहादुर थापा निर्वाचित भएका छन्।

महिला सदस्यमा राधा कार्की खाँण र सीता बस्नेत तथा अन्य सदस्यमा राजकुमार गौतम, हरिप्रसाद खनाल विजयी भए। लिलाधर दंगोरिया थारु गोलाप्रथाबाट चयन भए।

आन्तरिक लेखा समिति संयोजकमा विष्णुप्रसाद पाण्डे र सदस्यमा लक्ष्मण सेन निर्वाचित भए भने महिला सदस्यमा सरस्वती बुढा गोलाप्रथाबाट चयन भएकी छन्।


पछिल्लो चुनावमा निरन्तर चुनौती

यसअघि बुटवलकै नयाँगाउँ खानेपानी संस्थाको चुनावमा पनि रास्वपाले कांग्रेस-एमाले गठबन्धनलाई कडा चुनौती दिएको थियो, जहाँ ५७ मतको झिनो अन्तरले पराजित भएको थियो।

यस पटक भने मोतिपुर–सेमलारमा रास्वपाले क्लिनस्वीप गर्दै स्थानीय तहमा वैकल्पिक राजनीतिक भावनाको उभार देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु