गृहपृष्ठ भारतले नेपालका आठ आयोजना मार्फत २८३ मेगावाट विद्युत् निर्यात स्वीकृति नवीकरण

भारतले नेपालका आठ आयोजना मार्फत २८३ मेगावाट विद्युत् निर्यात स्वीकृति नवीकरण


कार्तिक १३, २०८२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यात स्वीकृतिको नवीकरण पाएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) ले बुधबार नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यातका लागि दिइएको अनुमति पुनः एक वर्षका लागि नवीकरण गरेको हो।

प्राधिकरणले हाल देशभित्रको खपत पूरा गरी बाँकी रहेको विद्युत् भारतको ऊर्जा बजार इन्डियन एनर्जी एक्सचेन्ज (आईएक्स) मा डे–अहेड र रियल टाइम मार्केटमार्फत प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ। साथै, द्विपक्षीय सम्झौता अन्तर्गत हरियाणा र बिहार राज्यमा पनि विद्युत् आपूर्ति भइरहेको छ। भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा समेत नेपाली विद्युत् निर्यात भइरहेको छ।

आईएक्समार्फत बिक्री हुने विद्युत् नवीकरणका सन्दर्भमा ४ जलविद्युत् आयोजनाबाट उत्पादित १०३ मेगावाटको स्वीकृति विभिन्न मितिमा समाप्त भएपछि पुनः लागू गरिएको हो। सबै आयोजनाको स्वीकृति गत मङ्गलबारदेखि लागू हुने गरी करिब एक वर्षका लागि नवीकरण गरिएको प्राधिकरणले जनाएको छ।

यसैगरी, द्विपक्षीय सम्झौताअनुसार हरियाणा राज्यलाई करिब १८० मेगावाट विद्युत् बिक्री गर्दै आएको प्राधिकरणले अब ती आयोजनाबाट उत्पादित विद्युत् पनि आईएक्समा बिक्री गर्न अनुमति पाएको छ। यससँगै शुक्रबारदेखि ती आयोजनाको विद्युत् आईएक्समार्फत पनि निरन्तर बिक्री हुने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले भारतको नयाँदिल्लीमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ सभामा सहभागी हुन गएका क्रममा भारतीय विद्युत् मन्त्री मनोहरलाल खट्टरसँग भेटवार्ता गरेका थिए। भेटमा उनले विद्युत् निर्यात स्वीकृतिको प्रक्रिया सरलीकरण र नवीकरणका प्रस्तावलाई शीघ्र स्वीकृति दिन आग्रह गरेका थिए।

प्राधिकरणका अनुसार नेपालमा अहिले विद्युत् उत्पादनको अनुकूल समय भएकाले यो नवीकरणले निर्यात विस्तार र वैदेशिक मुद्रा आम्दानीमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु