गृहपृष्ठ नेपालले यूएईलाई १ रनले हराउँदै रोमाञ्चक जित दर्ता

नेपालले यूएईलाई १ रनले हराउँदै रोमाञ्चक जित दर्ता


आश्विन २६, २०८२

, काठमाडौं ।आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध १ रनको रोमाञ्चक जित दर्ता गरेको छ।

१४१ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमै रोकिएको थियो।

यूएईका अलिशान सराफूले अर्धशतकीय ५८ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ध्रुव पराशरले ३८ रनको योगदान दिए।

एक समय ८२–१ को बलियो अवस्थामा पुगेको यूएई नेपालका बलरहरूको दबाबमा परेपछि नियमित अन्तरालमा विकेट गुमाउँदै ९९–६ मा सीमित भयो। अन्तिमतिर पराशरले ठूला प्रहार गर्दै खेलमा आशा जगाएका थिए।

अन्तिम ओभरमा यूएईलाई जितका लागि १० रन आवश्यक थियो। बलिङका लागि आएका दीपेन्द्रसिंह ऐरीले पहिलो पाँच बलमा ९ रन दिएपछि स्थिति तनावपूर्ण बनेको थियो। छैटौँ बलमा पराशरलाई क्याचआउट गराउँदै ऐरीले नेपाललाई नाटकीय जित दिलाए। अन्तिम बलमा आवश्यक ३ रन पूरा गर्न नसक्दा यूएई १ रनले पराजित भयो।

नेपालका लागि दीपेन्द्रले ४ ओभरमा २२ रन खर्चिएर ३ विकेट लिए। सन्दीप लामिछाने, सोमपाल कामी र गुलशन झाले १–१ विकेट झारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो।
ओपनर आसिफ शेखले ४७ बलमा ५१ रनको अर्धशतकीय पारी खेले। कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेलले २० रन र गुलशन झाले ५ बलमा १४ रन जोडे।

सुरुवाती १० ओभरमा ७३–१ को बलियो सुरुवात गरेको नेपालले त्यसपछि रनगति सुस्त पार्दा अपेक्षित स्कोर बनाउन सकेन।

यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु