गृहपृष्ठ सुन प्रकरणमा पूर्वसभामुख महरा पुनः पक्राउ

सुन प्रकरणमा पूर्वसभामुख महरा पुनः पक्राउ


आश्विन २६, २०८२

काठमाडौँ — इलेक्ट्रोनिक चुरोट ‘भेप’मा लुकाएर ल्याइएको सुन प्रकरणमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा पुनः पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार साँझ ललितपुर महानगरपालिका–२६ खुमलटारस्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको हो। सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार “भेपमा लुकाएर ल्याइएको सुनसम्बन्धी अनुसन्धानमा केही पक्ष बाँकी रहेकाले” उनलाई पुनः पक्राउ गरिएको हो।

महरालाई यसअघि पनि सोही प्रकरणमा पक्राउ गरिएको थियो। २०८० चैत ५ गते भारत भाग्ने आशंकामा रुपन्देहीबाट पक्राउ गरी काठमाडौं ल्याइएपछि चार दिनपछि हाजिर जमानीमा रिहा गरिएको थियो।

त्यसबेला सीआईबीको सिफारिसमा जिल्ला सरकारी वकिल कार्यालयका तत्कालीन जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले पाँचवटा आधारका कारण महरालाई रिहा गर्न सहमति दिएका थिए। प्रहरीका अनुसार उनले त्यसयता आवश्यकताअनुसार सीआईबीमा उपस्थित भइरहेका थिए।

तर, सरकार र प्रहरी नेतृत्व दुवै परिवर्तन भएको अवस्थामा महरा पुनः पक्राउ परेका हुन्। हाल सीआईबीको नेतृत्व एआईजी डा. मनोज केसीले गरिरहेका छन्।

महरालाई स्वास्थ्य समस्या रहेका कारण आठ प्रकारका औषधि सेवन गरिरहेको बताउँदै अघिल्लो पटक अस्पतालको कागजातका आधारमा रिहा गरिएको थियो। तर, हाल उनी पुनः सोही मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका हुन्।

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ नागरिक दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले महरालाई संगठित सुन तस्करीमा संलग्न रहेको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।

२०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङले ७३० वटा भेपमार्फत सुन ल्याएको प्रकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पत्ता लगाएको थियो। त्यसबेला महरा र उनका छोरा राहुलले उक्त भेप फिर्ता गराउने प्रयास गरेको अनुसन्धानमा खुलेको बताइन्छ।

सीआईबीका अनुसार राहुल यसअघि सोही प्रकरणमा पक्राउ परेका थिए। भेप ल्याउने समूहका चिनियाँ नागरिक आसिन पेङ, दाओजिन वाङ र ली हासोङ अहिले पनि फरार छन्। उनीहरू ६० किलो सुन तस्करी प्रकरणमा समेत संलग्न रहेको सीआईबीको दाबी छ।

भेपमा सुन भएको थाहा पाएपछि विमानस्थलका नायब सुब्बा रेवन्त खड्काले अर्को समूहसँग मिलेर गोदामबाट सुन निकालेर बेचेको तथ्य पनि अनुसन्धानमा खुलेको छ। त्यसबारे तत्कालीन भन्सार प्रमुख अरुण पोखरेलले प्राथमिक छानबिन गरी थप अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेका थिए।

सीआईबीले यस प्रकरणमा जीवनकुमार गुरुङ (प्लाटिन कलेजका सीईओ) लगायतका व्यक्तिबाट पनि बयान लिएको जनाएको छ। वाङसँगको सम्बन्धका आधारमा महराविरुद्ध ६० किलो सुन प्रकरणमा समेत अनुसन्धान अघि बढाउने तयारी रहेको सीआईबी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु