गृहपृष्ठ काठमाडौंमा मात्र एक हजार बढी सरकारी सवारी साधनमा आगजनी

काठमाडौंमा मात्र एक हजार बढी सरकारी सवारी साधनमा आगजनी


भाद्र ३१, २०८२

३१ भदौ, काठमाडौं । जेनजी युवाको आन्दोलन हिंसात्मक रूप लिँदा राजधानी काठमाडौंमा मात्रै एक हजारभन्दा बढी सरकारी सवारी साधनमा आगजनी भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।

विभिन्न निकायले संकलन गरेको विवरणअनुसार हालसम्म ४४१ वटा चारपांग्रे र ६०१ वटा दुईपांग्रे गरी कुल १ हजार ४२ वटा सरकारी सवारी साधन पूर्णरूपमा नष्ट भएका छन्। अधिकारीहरूका अनुसार दुईपांग्रे सवारीमा आगजनीको संख्याभन्दा चारपांग्रे बढी क्षतिग्रस्त भएका छन्।

सरकारी मुखपत्र गोरखापत्र दैनिक मा प्रकाशित विवरणअनुसार सबैभन्दा बढी सडक विभागका ६५ वटा चारपांग्रे सवारी साधन जलेका छन्। त्यसपछि सर्वोच्च अदालतका ५१ वटा, सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७ वटा र अर्थ मन्त्रालयका ३६ वटा सवारी साधन क्षतिग्रस्त भएका छन्।

त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा, शिक्षा मन्त्रालयका २६ वटा, गृह मन्त्रालयका २५ वटा, स्वास्थ्य मन्त्रालयका २२ वटा, युवा तथा खेलकुद मन्त्रालयका १९ वटा, संघीय संसद सचिवालयका १८ वटा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ वटा, वन तथा वातावरण मन्त्रालयका १७ वटा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा चारपांग्रे गाडी जलेका छन्।

भदौ २३ गतेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि उच्चपदस्थ कर्मचारीहरूले सरकारी सवारी साधन सडकमा असुरक्षित हुने भन्दै कार्यालय परिसरमै राख्न निर्देशन दिएका थिए। तर भदौ २४ गते आन्दोलन थप हिंसात्मक बनेपछि सिंहदरबार भित्र–बाहिरका सरकारी कार्यालय परिसरमा समेत तोडफोड, लुटपाट र आगजनी भएको थियो। सो क्रममा पार्किङमा राखिएका चारपांग्रे र दुईपांग्रे सवारी साधन समेत जलेका थिए। अहिले पनि सरकारी कार्यालयका आँगनमा जलेका गाडीहरू थुप्रिँदै देखिन्छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु