गृहपृष्ठ जेन-जी आन्दोलनका घटना छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने मन्त्रिपरिषदको निर्णय
जेन-जी आन्दोलनका घटना छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने मन्त्रिपरिषदको निर्णय
भदौ ३०, २०८२
काठमाडौं । सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको नेतृत्वमा समिति बनाउने सैद्धान्तिक निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। उनले भने, “समितिको संरचनाबारे अन्तिम टुंगो लगाउने प्रक्रिया बाँकी छ।”
यस्तै, सरकारले जेन-जी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने सरकारको निर्णय छ। असोज १ गतेलाई शोक दिवसका रूपमा मनाइने पनि बैठकले तय गरेको छ।
मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत र अन्य खर्चका लागि थप पाँच लाख रुपैयाँसहित कुल १५ लाख रुपैयाँ उपलब्ध गराइने भएको छ। राहत वितरण गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत हुने सरकारको भनाइ छ।
त्यसैगरी, आन्दोलनमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने निर्णय पनि सरकारले गरेको छ।
अन्तरिम सरकार गठनपछि प्रधानमन्त्री सुशीला कार्कीले सोमबार पहिलोपटक मन्त्रिपरिषद बैठक बोलाएकी हुन्। यसअघि उनले तीन सदस्यीय मन्त्रिमण्डल विस्तार गरेकी थिइन्।








