गृहपृष्ठ पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले रास्वपा छाडिन्,

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले रास्वपा छाडिन्,


भाद्र २९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन्।

पार्टी त्यागको जानकारी दिँदै उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “अब खुला रूपमा आक्रमण गर्न सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोस्, मैले पार्टी छोडेकी छु।”

श्रेष्ठले पार्टी केन्द्रीय समितिलाई बुझाएको राजीनामामा नेतृत्वप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन्। उनका अनुसार पार्टी नेतृत्वले निरन्तर गल्ती दोहोर्याउने तर त्यसको जिम्मेवारी कहिल्यै स्वीकार नगर्ने प्रवृत्ति मौलाएको छ। “गल्तीमाथि गल्ती गर्ने र त्यसको बोझ पार्टीका सबै सदस्यलाई बोकाउने प्रवृत्ति स्वीकार्य भएन,” उनले भनेकी छन्।

उनले आलोचनात्मक आवाजलाई दबाउन मिडिया ट्रायलको प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाइन्। “पार्टीभित्र आलोचना गर्नेहरूलाई दु:ख दिन र नेताको व्यक्तिपूजालाई प्राथमिकता दिने संस्कार हावी भएपछि निरन्तर आलोचना गर्दै आएकी हुँ,” श्रेष्ठको भनाइ छ।

श्रेष्ठ यसअघि रास्वपाको सह-महामन्त्रीबाट पनि राजीनामा दिएकी थिइन्। त्यतिबेला उनले सांसद भएकै कारण संगठनात्मक जिम्मेवारीमा समय दिन नसकेको औंल्याएकी थिइन्। समानुपातिकतर्फबाट सांसद बनेकी श्रेष्ठ प्रचण्ड नेतृत्वको सरकारमा शिक्षामन्त्री समेत बनेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु