गृहपृष्ठ सुन कारोबारमा राजस्व लुकाएको प्रमाण : रुपन्देहीमा दुईजनामाथि मुद्दा
सुन कारोबारमा राजस्व लुकाएको प्रमाण : रुपन्देहीमा दुईजनामाथि मुद्दा
कल्पना घिमिरे
रुपन्देही । राजस्व अनुसन्धान विभागले ठूलो परिमाणको राजस्व चुहावट प्रकरणमा रुपन्देही जिल्ला अदालत, भैरहवामा अभियोगपत्र दायर गरेको छ।
विभागका अनुसार अनुसन्धान कार्यालय बुटवलमार्फत गरिएको छानबिनपछि भारतको पंजाब, अमृतसर निवासी कुलदिप सिंह र रुपन्देहीको तिलोत्तमा–१६, कोटीहवाका रामबहादुर बिकविरुद्ध ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२’ बमोजिम मुद्दा दायर गरिएको हो।
अनुसन्धानले दुवै प्रतिवादीले सुनका गरगहना खरिद गर्दा कानुनी स्रोत, बिलबिजक र भन्सार प्रज्ञापनपत्र नदेखाई चोरी–पैठारी गरेर कारोबार गरेको प्रमाणित गरेको विभागले जनाएको छ। यसरी भन्सार महसुल लुकाएर गरिएको कार्य ऐनको दफा ३ ले निषेध गरेको र दफा ४ का विभिन्न उपदफा अनुसार कसुरमा पर्ने ठहर भएको हो।
विभागले मुख्य अभियुक्त कुलदिप सिंहलाई एक करोड पाँच लाख आठ हजार चार सय एघार रुपैयाँ तिस पैसा बराबर बिगो कायम गर्दै सोही रकम बराबर जरिवाना र हदैसम्मको कैद सजाय मागदाबी गरेको प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताए।
त्यस्तै, सहअभियुक्त रामबहादुर बिकलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा अर्थात् बाउन्न लाख चौवन्न हजार दुई सय छ रुपैयाँ बिगो कायम गरी जरिवाना तथा कैद सजाय माग गरिएको छ।
दुवै प्रतिवादीलाई गरी विभागले जम्मा दुई करोड बैसठ्ठी लाख एकहत्तर हजार उनन्तिस रुपैयाँ बिगो तथा जरिवाना दाबी गर्दै २०८२ साल भदौ २ गते जिल्ला सरकारी वकिल कार्यालय, सिद्धार्थनगर, भैरहवाबाट राय लिएर अदालतमा अभियोगपत्र दायर गरेको जनाएको छ।









