गृहपृष्ठ सर्वोच्चको तीन इजलासमा एकैदिन ९९ भ्रष्टाचार मुद्दाको सुनुवाइ

सर्वोच्चको तीन इजलासमा एकैदिन ९९ भ्रष्टाचार मुद्दाको सुनुवाइ


शुक्रबार, १६ साउन

काठमाडौं — सर्वोच्च अदालतमा आज (शुक्रवार) तीनवटा इजलासमा जम्मा ९९ वटा भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको सुनुवाइ तोकिएको छ। मुद्दाहरूमा शिक्षक नियुक्तिका लागि झुटा प्रमाणपत्र प्रयोगदेखि लिएर सरकारी अनुदान रकम हिनामिना, सरकारी जग्गाको फर्जी स्रेस्ता सृजना, र परीक्षा परिणाम हेरफेरसम्मका गम्भीर अभियोगहरू समावेश छन्।

न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा ३२ वटा मुद्दा सुनुवाइमा छन्। यीमध्ये झुटा प्रमाणपत्रका आधारमा शिक्षक नियुक्ति, सवारी चालक अनुमतिपत्रमा चलखेल, परीक्षा परिणाम हेरफेर, र सरकारी कोषको हिनामिना प्रमुख विषय बनेका छन्।

त्यस्तै, न्यायाधीश मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा ३३ वटा मुद्दा पेशीमा छन्। मुद्दाहरूमा नक्कली जग्गाधनी खडा गरी सरकारी जग्गाको गैरकानुनी हस्तान्तरण, झुटा बिल र फर्जी प्रतिवेदन पेस गरी रकम अपचलन, र विद्यालय तथा सरकारी अनुदान रकम हिनामिनाका विषय छन्।

न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको इजलासमा भने ३४ मुद्दा पेशीमा छन्। तीमध्ये सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न कागजात हेरफेर, राजस्व चुहावट, पद नपाईसके पनि लाभ लिएको अभियोग, तथा विद्यालय भवन निर्माणका क्रममा रकम हिनामिना भएको जस्ता विषयहरू छन्।

यसरी एउटै दिन ९९ वटा भ्रष्टाचारसम्बन्धी मुद्दा पेशीमा परेका घटना न्यायालयमा बढ्दो भ्रष्टाचारसम्बन्धी कारवाहीको सङ्खेत पनि हो। साथै, यी मुद्दाले राज्यका विभिन्न तहमा व्यापक अनियमितता र कानुनी दायरा फैलँदो प्रमाणित गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु