गृहपृष्ठ कमजोर लघुवित्तसँग मर्जर गरेर कर्मचारीको भविष्य जोखिममा पारियो: संघ”

कमजोर लघुवित्तसँग मर्जर गरेर कर्मचारीको भविष्य जोखिममा पारियो: संघ”


काठमाडौं,
ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीच अगाडि बढाइएको मर्जर प्रक्रियाले आन्तरिक असन्तुष्टि चुलिएको छ। नेपाल राष्ट्रिय कर्मचारी संगठन, ग्रामिण विकास लघुवित्तले शुक्रबार प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्यामकुमार कट्वाललाई ध्यानाकर्षण पत्र बुझाउँदै मर्जर प्रक्रिया तत्काल खारेज गर्न माग गरेको छ।

ध्यानाकर्षण पत्रमा मर्जर प्रक्रिया संस्था हितभन्दा बढी केही सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन तहका कर्मचारीहरूको व्यक्तिगत स्वार्थ र लाभ विस्तारका लागि अघि सारिएको दाबी गरिएको छ।

संघका केन्द्रीय उपाध्यक्ष विष्णु पंगेनीले मर्जरलाई संस्था र शेयर सदस्यमाथिको खेलवाडको संज्ञा दिँदै भने, “सयौं कर्मचारीको सेवा सुविधा, उपदान तथा करियरमा बहुआयामिक असर पार्ने मर्जरको नाममा संस्थाको मनोबल तोड्ने काम हुँदैछ।”

संघले हालै सम्पन्न आर्थिक वर्ष २०८०/८१ का वित्तीय सूचकांकको हवाला दिँदै समाज लघुवित्त कमजोर अवस्थामा रहेको बताएको छ। पत्रमा उल्लेख भएअनुसार समाज लघुवित्तको चुक्ता पुँजी, निक्षेप संकलन, ऋण लगानी, सदस्य संख्या र ऋणी संख्या सबै ५ प्रतिशतभन्दा कम रहेको छ।

“यस्ता कमजोर सूचकांक भएको संस्थासँग मर्जर गर्नु नाम मात्रैको प्रक्रिया हो,” पत्रमा भनिएको छ, “यो पूर्णतः व्यक्तिगत स्वार्थमा आधारित कदम हो।”

संघले ग्रामिण विकास लघुवित्तले हालै ५ सयभन्दा बढी नयाँ कर्मचारी नियुक्त गरिसकेको र यही समूहबाट व्यवसाय वृद्धि सम्भव हुने दाबी गर्दै समाज लघुवित्तका कर्मचारीलाई नियुक्त गर्ने योजना विधि विपरित रहेको दाबी गरेको छ।संघले मर्जरजस्तो गम्भीर विषयमा ट्रेड युनियनसँग कुनै औपचारिक छलफल, संवाद वा परामर्श नगरिएको भन्दै आपत्ति जनाएको छ। स्वतन्त्र अध्ययन र मूल्याङ्कन विना निर्णय गरिएको भन्दै तत्काल मर्जर प्रक्रिया खारेज गर्न माग गरिएको छ।

संघका केन्द्रीय अध्यक्ष दिपेन्द्र लुईटेलले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा जबर्जस्ती मर्जर प्रक्रिया अगाडि बढाइए संस्थागत पक्षले गम्भीर परिणामको जिम्मेवारी लिनुपर्ने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु