गृहपृष्ठ ७ करोड राजस्व छली प्रकरण : पश्चिम नवलपरासीका चार व्यवसायीविरुद्ध मुद्दा दायर

७ करोड राजस्व छली प्रकरण : पश्चिम नवलपरासीका चार व्यवसायीविरुद्ध मुद्दा दायर


रुपन्देही । राजस्व अनुसन्धान विभागले करिब ७ करोड रुपैयाँ बराबरको राजस्व छली गरेको अभियोगमा पश्चिम नवलपरासीका चार जना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ।

राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा नवज्योति ट्रेडर्सका प्रोप्राइटर सौरभ यादवसहित चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको राजस्व कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले जानकारी दिए।

मुद्दामा रामग्राम नगरपालिका–८ मा अवस्थित नवज्योति ट्रेडर्सका यादव र आगवन स्टोर्स एन्ड अर्डर सप्लायर्सकी सञ्चालक पुष्पा शर्माले मिलेमतोमा अवैध कारोबार गरेका प्रमाण पेश गरिएको छ।

राजस्व अनुसन्धानका अनुसार, यादवले ५० लाखभन्दा बढीको करयोग्य वस्तु बिक्री गरे पनि उनले मूल्य अभिवृद्धि कर (मूअकर)मा दर्ता नगरी कारोबार गर्दै आएको पाइएको छ। साथै, पटक–पटक चामलको नक्कली बिल बनाइ भारतबाट चिनी चोरी पैठारी गरी नेपाल भित्र्याएको पुष्टि भएको छ।

अनुसन्धानपछि यादवको हकमा मूअकर तथा भन्सार चोरीतर्फ ३ करोड ४६ लाख ६२ हजार ७५३ रुपैयाँ २३ पैसा बिगो कायम गरिएको छ। सो रकम शतप्रतिशत जरिवानासहित असुल उपर गरिनुपर्ने माग राखिएको छ।

त्यस्तै, चिनी चोरी कारोबारमा संलग्न भएकी पुष्पा शर्मामाथि ११ लाख ७१ हजार ५ सय रुपैयाँ बिगो कायम गरिएको छ। उनीविरुद्ध पनि शतप्रतिशत जरिवाना र हदैसम्मको कैद सजायको माग गरिएको छ।

यसैगरी, शर्माको उक्त कारोबारमा प्रत्यक्ष सघाएको आरोपमा हिक्मतप्रसाद आचार्यमाथि आधा सजाय माग गरिएको छ। साथै, विनोद थापालाई राजस्व छलीमा संलग्न भएको पुष्टि भएको भन्दै जरिवानासहित मुद्दा दायर गरिएको छ।

राजस्व विभागका उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सो सबै विवरण उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु