गृहपृष्ठ बुटवलमा पूर्वपतिको हातबाट आमा र दुई छोरीको नृशंस हत्या

बुटवलमा पूर्वपतिको हातबाट आमा र दुई छोरीको नृशंस हत्या


, बुटवल — बुटवल उपमहानगरपालिका–११, मिलीजुली पथ स्थित एक घरमा बुधबार बिहान एकै परिवारका तीन जनाको नृशंस हत्या भएको छ। हत्या हुनेमा ३४ वर्षीया दीपा बस्याल र उनका दुई छोरीहरू — ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्याल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरूलाई दीपाका पूर्वपति ३५ वर्षीय सुजन कोइरालाले धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्। प्रहरीका अनुसार घटना कोइरालाकै घरमा भएको हो र हाल उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।

विगतको सम्बन्ध र घटना पूर्वसन्ध्या

दीपा र सुजनबीच वि.सं. २०६९ मा विवाह भएको थियो। तर सोही वर्ष सुजन आफ्नै दाजु सुदीप कोइरालाको हत्या अभियोगमा जेल परेपछि उनीहरूको वैवाहिक सम्बन्ध चिसिएको थियो। दीपा र सुजनबीच वि.सं. २०७२ मा कानुनी रूपमा सम्बन्धविच्छेद भएको थियो।

सम्बन्धविच्छेदपछि दीपाले पूर्वी नवलपरासीका शंकर ढकालसँग दोस्रो विवाह गरेकी थिइन्। हत्या गरिएका दुई छोरीहरू यही सम्बन्धबाट जन्मिएका हुन्। हाल ढकाल वैदेशिक रोजगारीका लागि दुबईमा छन्।

दीपा हाल पाल्पाको तानसेनस्थित एक आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्। मंगलबार भान्जीको विवाह समारोहका लागि बुटवल आएकी उनी पूर्वपतिको निम्तोमा सुजनकै घरमा बसेकी थिइन्।

योजनाबद्ध हत्या

प्रहरीका अनुसार बुधबार बिहान करिब ४ बजे कोइरालाले चक्कु र हतौडाको प्रयोग गरी तीनै जनाको हत्या गरेका थिए। बिहान ६ बजेतिर उनले घर मर्मतको बहानामा एक कामदारलाई बोलाएपछि घटना बाहिरिएको हो।

प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीका अनुसार कोइरालालाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको हो। प्रहरीले तीनै शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएको छ।

सुजनको विगत र मनोस्थितिबारे अनुसन्धान

स्थानीयवासीका अनुसार सुजन कोइराला करिब ८/९ वर्ष जेल बसेपछि संविधान दिवसका अवसरमा राष्ट्रपतिको माफी पाई छुटेका थिए। त्यसयता उनी जेलमै निर्मित सामग्रीहरूको व्यापारमा संलग्न थिए। प्रहरीका अनुसार उनका घरभित्र ती सामग्रीहरूको भण्डारण पनि भेटिएको छ।

हाल कोइरालाको मनोवैज्ञानिक अवस्था र हत्या पछाडिको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दीपा र सुजनबीच विगत एक वर्षदेखि भेटघाट भइरहेका थिए भन्ने प्रारम्भिक विवरण आएको छ।

दीपाका आफन्तले उनको बुटवल आगमनको जानकारी नभएको बताएका छन्। उनी मंगलबार नै बुटवल आइसकेकोबारे आफन्तलाई जानकारी नदिई सोही रात सुजनको घरमा पुगेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु