गृहपृष्ठ पोखरा विमानस्थल प्रकरण : सांसद आले भन्छन् – “समिति नै कमजोर हुँदै गएको हो?”
पोखरा विमानस्थल प्रकरण : सांसद आले भन्छन् – “समिति नै कमजोर हुँदै गएको हो?”
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा १० अर्ब रुपैयाँभन्दा बढी रकम वार्तामार्फत भ्रष्टाचार भएको गम्भीर आरोप लगाएका छन्।
बुधबार बसेको संसदीय सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद आलेले परियोजनासम्बन्धी महत्वपूर्ण कागजातहरूसमेत प्राप्त नभएको गुनासो गरे। उनले फ्लाइट प्रोसीजर डिजाइनको माग गर्दा २०२२ नोभेम्बरसम्मको मात्र कागजात प्राप्त भएको जानकारी दिए।
“२०१७ को डिजाईन घरमै थन्काइएको हो कि भन्ने आशंका छ,” उनले भने, “हामीले पटक–पटक डकुमेन्ट माग्दा पनि पर्याप्त सूचना प्राप्त भएको छैन। अर्थ मन्त्रालयसँग करसम्बन्धी कागजात माग्दा समेत नदिएको छ।”
समितिको प्रभावकारितामाथि प्रश्न उठाउँदै आलेले भने, “कतै हाम्रो समिति कमजोर त हुँदै गएको छैन?”
उनले उल्लेख गरेअनुसार विमानस्थलको लागत सुरुमा १४५ मिलियन अमेरिकी डलर थियो, जुन अचानक २१६ मिलियन डलरसम्म बढाइएको छ। यसै आधारमा उनले कम्तीमा ७१ मिलियन डलर बराबरको खुला भ्रष्टाचार भएको ठोकुवा गरे।
“परदेशबाट गाउँपालिकाले ५० लाख पठाउँदा पनि सार्वजनिक खरिद ऐनअनुसार टेन्डर गर्नुपर्छ। तर यहाँ १० अर्ब रुपैयाँभन्दा बढी वार्ताद्वारा खर्च गरिएको छ,” उनले भने।










