गृहपृष्ठ तीनकुने प्रदर्शन अनुसन्धान पूरा, दुर्गा प्रसाईंसहित ८ जनामाथि संगठित अपराधको आरोप
तीनकुने प्रदर्शन अनुसन्धान पूरा, दुर्गा प्रसाईंसहित ८ जनामाथि संगठित अपराधको आरोप
पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्धको अनुसन्धान सम्पन्न भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको छ।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, बुधबार साँझभित्र प्रतिवेदन बुझाउने तयारी भइरहेको छ। उक्त प्रदर्शनका क्रममा भएको आगजनी र ज्यान हानिको घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने उद्देश्यले प्रहरीद्वारा विस्तृत अनुसन्धान गरिएको हो।
प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नवराज सुवेदीको नेतृत्वमा भएको प्रदर्शनमा भाग लिएका ८ जनालाई ज्यानसम्बन्धी कसुरमा अभियोग लगाउनुपर्ने राय दिएको छ। उक्त प्रदर्शनका क्रममा सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था, जसको अध्यक्ष प्रेम बहादुर श्रेष्ठ थिए, को भवनमा भएको आगजनीबाट पूर्ण क्षति पुगेको थियो। यसै घटनामा पत्रकार सुरेश रजकको ज्यान गएको थियो।
प्रहरीको प्रतिवेदन अनुसार रामेछापको सुनापति गाउँपालिकाका २२ वर्षीय सरोज गौतम, अछाम पञ्चदेवल नगरपालिका–५ का २० वर्षीय गोकर्ण शाही उर्फ अनुप विक्रम ठकुरीसहित दुर्गा प्रसाईंलगायत आठ जनालाई प्रतिवादी कायम गरिनुपर्ने उल्लेख छ।
अनुसन्धान प्रतिवेदनमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधका आरोपहरू सिफारिस गरिएको छ। घटनामा संलग्न ठहरिएका केही व्यक्तिहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिएको छ भने केहीलाई हाजिर जमानीमा रिहा गरिएको छ।
तीनकुनेस्थित प्रदर्शनमा अवाञ्छित गतिविधिमा संलग्न भएको अभियोगमा २६ जनालाई राज्यविरुद्धको कसुरमा र २७ जनालाई आपराधिक उपद्रवको अभियोगमा हिरासतमा राखिएको छ।










