गृहपृष्ठ प्रधानमन्त्रीकी पत्नीको जिप्लो गुनासो : ‘सुविधा पाएको भए बहिनी ट्याक्सी चढ्थिन् र?'”

प्रधानमन्त्रीकी पत्नीको जिप्लो गुनासो : ‘सुविधा पाएको भए बहिनी ट्याक्सी चढ्थिन् र?'”


सोमबार, ०५ जेठ २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफू वा आफन्तले कहिल्यै पनि ओलीको पदको दुरुपयोग नगरेको स्पष्ट पार्दै, यससम्बन्धी एक व्यक्तिगत अनुभव सार्वजनिक गरेकी छन्।

आफ्नै पुस्तक ‘करुणा’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भनिन्, “केपी ओली विभिन्न समयमा उच्च पदमा भए पनि कुनै नातागोता वा आफन्तलाई सानो–ठूलो पदमा राखिएको उदाहरण देखाउन सक्नुहुन्छ भने खोजेर देखाइदिनुहोस्।”

उनका अनुसार, आफू कडा स्वभावकी भएकाले कोही पनि कुनै व्यक्तिगत स्वार्थ लिएर आफू कहाँ आउँदैनन्। उनले भनिन्, “मसँग माग लिएर आउँदैनन्, म केही गर्दिन भन्ने सबैलाई थाहा छ। त्यसैले मान्छेहरू पहुँच बनाउने उपाय खोजेर अन्यत्रै जान्छन्।”

शाक्यले खासगरी माइतीतिरका आफन्तलाई केही व्यक्तिहरूले पहुँच बनाउने लोभमा दुःख दिने गरेको गुनासो पनि गरिन्। एक प्रसङ्ग सुनाउँदै उनले आफ्नी कान्छी बहिनीले भोगेको अनुभव साझा गरिन्।

“मेरो बहिनी प्रसूति अस्पतालमा स्टाफ नर्स हो, बेलुका क्लिनिकमा काम गर्न जान हतार भएकाले एक दिन ट्याक्सी चढेकी रहिछ,” शाक्यले सुनाइन्, “ट्याक्सीमा चालकले ओलीजीबारे नकारात्मक कुरा गर्दै आफन्तलाई गाडी सुविधा दिएको भन्दै आरोप लगाएछ।”

उक्त कुरा सुनेपछि बहिनी निकै रिसाएकी रहिछन्। शाक्यका अनुसार, “ट्याक्सीबाट झर्दा उनले चालकलाई भनिछन्– म ओलीको साली हुँ, यदि हामीले सुविधा पाएको भए म तिमीले चलाएको ट्याक्सीमा चढ्नुपर्ने थिएन होला।”

शाक्यले उक्त प्रसङ्ग मार्फत आफन्तलाई दिइएको भनिएको सुविधाको भ्रम चिर्न खोजेकी हुन्। उनले जोड दिँदै भनिन्, “हाम्रो नातागोतालाई कतै राखिएको छैन, कसैलाई सानो पदमा पनि भर्ना गरिएको छैन।”

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु