गृहपृष्ठ कानुनविना महिलालाई विदेश पठाउनेको गतिविधि रोक्न सांसद खतिवडाको माग
कानुनविना महिलालाई विदेश पठाउनेको गतिविधि रोक्न सांसद खतिवडाको माग
सोमबार, ०५ जेठ २०८२
काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद भक्तबहादुर खतिवडाले श्रम मन्त्रालयसँग जोडिएका केही सल्लाहकारहरू महिलाहरूलाई घरेलु कामदारका रूपमा विदेश पठाउने नाममा ठुलो रकम असुलेको गम्भीर आरोप लगाएका छन्।
उनले कानुनी प्रक्रिया बेगर महिलाहरूलाई भिजिट भिसामार्फत दुबई हुँदै कुवेत र साउदी अरेबियाजस्ता मुलुकमा पठाउने कार्य भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। खतिवडाका अनुसार, ती सल्लाहकारहरूले ललितपुरको लुभुमा चार रोपनी जमिन लिजमा लिएर तालिमको नाममा महिलालाई विदेश पठाउने तयारी गरिरहेका छन्।
“कानुन नबनाई यस्ता काम नगरियोस् भन्ने माग गर्छु। महिलालाई घरेलु कामदारका रूपमा पठाउने तयारी भइरहेको सूचना पाएको छु,” उनले भने, “सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराउँदै यस्तो कार्य तुरुन्त रोक्न आग्रह गर्दछु।”
सांसद खतिवडाले यस्तो कार्य कानुनविपरीत रहेको भन्दै तत्काल रोक लगाउन आग्रह गरेका छन्। उनले सम्बन्धित निकायलाई यस्ता अवैध गतिविधि नियन्त्रण गर्न आवश्यक कदम चाल्न पनि अनुरोध गरेका छन्।










