गृहपृष्ठ सगरमाथा संवादको समापन आज, काठमाण्डौ घोषणा पत्र जारी हुने
सगरमाथा संवादको समापन आज, काठमाण्डौ घोषणा पत्र जारी हुने
काठमाण्डौ — अस्ति शुक्रबारदेखि काठमाण्डौमा सुरु भएको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन ‘सगरमाथा संवाद’ आज औपचारिक रूपमा समापन हुँदैछ। जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीलाई विश्व समुदायमाझ प्रस्तुत गर्ने उद्देश्यले पहिलोपटक नेपाल सरकारले यो संवाद आयोजना गरेको हो।
समापन सत्रपछि ‘जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती’ विषयक उच्चस्तरीय छलफलको निष्कर्षस्वरूप ‘काठमाण्डौ घोषणा पत्र’ सार्वजनिक गरिनेछ। यससँगै सगरमाथा संवादको औपचारिक समापन हुनेछ।
सम्वादका क्रममा जलवायु परिवर्तनसँग सम्बन्धित १२ विभिन्न विषयमा समानान्तर सत्रहरू सम्पन्न भइसकेका छन्। उद्घाटनपछिको चरणमा ‘हिमनदी संरक्षणका लागि १.५ डिग्री सेल्सियस तापक्रमको सीमा’, ‘उच्च भूभागदेखि साना द्वीपसमुदायसम्मको सम्बन्ध’, ‘खाद्य सुरक्षासहितको जलवायु अनुकूल कृषि’ र ‘हिमाली समुदायको नेतृत्वमा जलवायु न्यूनीकरण’ जस्ता विषयमा गहिरो छलफल भएको थियो।
उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुभएको थियो भने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत मन्तव्य दिएकी थिइन्। संवादको मुख्य विषयवस्तु ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ मा केन्द्रित थियो।
उक्त सम्मेलनमा १७५ जना विदेशी पाहुनासहित ३५० भन्दा बढी विशिष्ट व्यक्तित्वको सहभागिता रहेको छ। नेपाल सरकारले अबदेखि प्रत्येक दुई वर्षमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरिसकेको छ।










