गृहपृष्ठ प्रचण्डको आह्वान : “संविधान रक्षा र राष्ट्रिय स्वाधीनताका लागि वाम एकता अपरिहार्य”
प्रचण्डको आह्वान : “संविधान रक्षा र राष्ट्रिय स्वाधीनताका लागि वाम एकता अपरिहार्य”
कार्तिक ११, २०८२
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान रक्षा र राष्ट्रिय स्वाधीनता सुदृढीकरणका लागि सबै माओवादी धारासहित वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै प्रचण्डले वर्तमान राजनीतिक जटिलता, जनअपेक्षा र लोकतन्त्रमाथि देखिएको चुनौती समाधान गर्न वाम एकता र राष्ट्रिय सहकार्य अपरिहार्य भएको उल्लेख गरे।
उनले लेखेका छन्, “देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिबीच राष्ट्रिय सहकार्य आजको आवश्यकता बनेको छ ।” उनका अनुसार राष्ट्रले भोगिरहेका समस्या र संकटको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ।
संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र समाजवाद निर्माणको आधार तय गर्न माओवादीसहित वामपन्थी शक्तिहरूले साझा आन्दोलन र एकताबद्ध अभियानमार्फत अघि बढ्नु आवश्यक रहेको प्रचण्डले बताए।
“देशका सबै माओवादी धारा तथा वामपन्थीहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु,” उनले भने। साथै, संविधानको रक्षा र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि सबै गणतान्त्रिक शक्तिलाई साझा राष्ट्रिय एकताको मोर्चामा गोलबन्द हुन उनले आह्वान गरेका छन्।










