गृहपृष्ठ गाउँघरमै सीमित सरायँ, शहरमा पुनःजागरण गर्ने पहलहरू
गाउँघरमै सीमित सरायँ, शहरमा पुनःजागरण गर्ने पहलहरू

बिष्णु घर्ती “भनभनेली”
बुटवल टाइम्स,
नेपालको सामाजिक र सांस्कृतिक जीवनमा विभिन्न खालका प्राचीन परम्पराहरू जरा गाडेर बसेका छन्। विशेष गरी दशैं जस्तो महान पर्वमा देखिने संस्कार, संस्कृतिहरूले समुदायबीच एकता, सहकार्य र ऐतिहासिक स्मरणको भाव जगाउने काम गर्दै आएका छन्। यसै क्रममा सरायँ नामक सांस्कृतिक धरोहरले दशैंलाई अझै भव्य र अर्थपूर्ण बनाएको पाइन्छ।
सरायँ के हो ?
नेपालको लोकसंस्कृतिमा विशेष महत्व पाएको सरायँलाई नेपाली बृहत् शब्दकोशले यसरी परिभाषित गरेको छ— “विशेष पर्वमा मन्दिर वा कोटघरभित्र रहेका खुकुरी, तरवार, खुँडा, खड्ग, लठ्ठी जस्ता हतियार हातमा लिएर नाच्दै, घुमाउँदै, आपसमा ठोक्काउँदै बाजाका तालमा प्रस्तुत गरिने जात्रा”। यसले युद्धकालीन विजय उत्सव, सामूहिक एकता र सांस्कृतिक चेतनालाई जीवन्त बनाउने गरेको छ।
ऐतिहासिक पृष्ठभूमि
इतिहासकारहरूका अनुसार सरायँको सुरुवात अर्घाकोट र खाँचीकोट क्षेत्रबाट भएको हो। वि.सं. १८१४ मा जितगढी किल्ला (बुटवल) मा भएको नेपाल–अंग्रेज युद्धमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अंग्रेज सेनालाई पराजित गरेपछि विजय उत्सव स्वरूप लडाकुहरूले युद्ध सामग्रीसहित नाचगान गरेका थिए। त्यही विजय घोष “सर (जित) गरी आएँ” भन्ने भावबाट ‘सरायँ’ नामकरण भएको जनविश्वास रहिआएको छ।
क्षेत्रगत विस्तार
हाल सरायँ विशेष गरी अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान, कपिलवस्तु, रुपन्देहीलगायतका जिल्लामा प्रचलित छ। गुल्मीका धुर्कोट, मसिकोट, इस्मा, पौदी, पुर्कोट, चोयगाल जस्ता क्षेत्रमा, अर्घाखाँचीका अर्घा, खाँचीकोट, चौडिला, अर्घातोषमा, पाल्पाका मुझुङ्, भारकोट, लिपिन्देवी आदिमा सरायँ प्रसिद्ध छ। प्यूठानको डल्लेमा लाग्ने सरायँ “डल्ले सरायँ” नाममै चर्चित छ। हाल यसलाई शहरी क्षेत्रमा पनि विस्तार गरिएको छ— बुटवल, कपिलवस्तु, काठमाडौं लगायतका ठाउँमा हरेक वर्ष सरायँ आयोजना हुने गरेको छ।
सरायँका चरणहरू
सरायँ केवल नाच मात्र नभई युद्धकला, गीत, कथा र सामूहिक उत्सवको संगम हो। यसका विभिन्न चरणहरू यसप्रकार छन्—
छिमले खेल्ने : सरायँ सुरु हुनु अघि छोटकरीमा दुई समूह आमने–सामने भई युद्धकला प्रदर्शन गर्ने।
तुरी खेल्ने : दोहोरीझै शैलीमा वर्षभरि समुदायले भोगेका दुःख–सुखका प्रसङ्गलाई उल्लेख गर्दै बाजासहित प्रस्तुत गर्ने।
गोलो घेरामा नाच्ने : नौमती बाजाको तालमा सामूहिक रूपमा गोलो घेरा बनाएर घण्टौंसम्म हतियारसहित नाचिने चरण।
भट्ट्याउने : युद्ध विजयका गाथा, देवी दुर्गाको महिमा र दशैंको महत्वलाई गाइने गीत।
पट्टा खेल्ने : तरवार, ढाल वा अन्य हतियारलाई एकल वा युगल रूपमा कलात्मक तरिकाले नचाउने कला।
सामाजिक महत्व
सरायँलाई केवल युद्धकला वा लोकनाचको रूपमा मात्र होइन, सामूहिक ऐक्यबद्धता र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा पनि लिइन्छ। यसमा स्थानीयको सहभागिता, श्रद्धा र उत्साहले दशैं पर्वलाई अझ भव्य बनाउँछ।
चुनौती र संरक्षण
आधुनिकीकरणसँगै परम्परागत संस्कृतिहरू लोप हुने जोखिम बढ्दै गएको छ। युवापुस्तामा आकर्षण घट्दै जानु, प्राविधिक अध्ययन अनुसन्धानको कमी, र स्थानीय स्तरमा पर्याप्त संरक्षण नहुनु सरायँका चुनौती हुन्। यद्यपि नेपाली सेना र विभिन्न सांस्कृतिक संस्थाहरूले यसलाई व्यवस्थित ढंगले प्रस्तुत गर्ने प्रयास गरेका छन्।
निष्कर्ष
दशैं पर्वलाई अपूर्ण बनाउने एउटा महत्वपूर्ण तत्व नै सरायँ हो। यसले ऐतिहासिक विजय, देवी दुर्गाको शक्ति र सामूहिक उत्सवलाई स्मरण गराउँछ। त्यसैले यस सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन हाम्रो साझा जिम्मेवारी हो। सरायँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु भनेको नेपालकै सांस्कृतिक पहिचानलाई स्थापित गर्नु हो।