गृहपृष्ठ लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने

लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने


रुपन्देही, असार १८ — लामो प्रतिक्षापछि लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज दिउँसो ३ बजे बस्न लागेको छ। असार १ गते बजेट सार्वजनिक भएयता सत्ता गठबन्धनभित्रै असहमति देखिँदा बैठक लगातार स्थगित हुँदै आएको थियो।

आजको बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सैद्धान्तिक छलफल सुरु गर्ने सम्भावित कार्यसूची समेटेको छ। प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार बैठकमा दुई मुख्य कार्यसूचीहरू रहेका छन्।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले “राजस्व र व्ययको वार्षिक अनुमान” माथि सैद्धान्तिक छलफल सुरु गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नेछन्। छलफलका क्रममा उठ्ने प्रश्नहरूको जवाफ पनि मन्त्री कार्की आफैंले दिने तयारी गरिएको छ।

यससँगै मन्त्री कार्कीले सो बैठकमै ‘आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक’ पनि प्रदेश सभामा प्रस्तुत गर्नेछन्। बजेट पेश भएको १७ दिनपछि बल्ल बजेटमाथि औपचारिक छलफल थालिँदैछ।

यसअघि असार ७ गतेका लागि बैठक बोलाइए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण स्थगित गरिएको थियो। सत्तारूढ दलहरू एमाले र कांग्रेसबीच पछिल्लो दिनहरूमा भएको सहमतिको आधारमा संसद पुनः सञ्चालनमा ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु