गृहपृष्ठ बुटवलमा समावेशी पत्रकारिता तालिम सुरु, स्थानीय सरकार र सञ्चारकर्मीबीच सहकार्यको जोड
बुटवलमा समावेशी पत्रकारिता तालिम सुरु, स्थानीय सरकार र सञ्चारकर्मीबीच सहकार्यको जोड
बुटवल, २५ जेठ —
बुटवलमा समावेशी पत्रकारितालाई सशक्त बनाउन तीन दिने क्षमता विकास तालिम सुरु भएको छ। प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहकार्यमा सञ्चालित तालिमको उद्घाटन आइतबार बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले सञ्चारमाध्यमले नगरको सकारात्मक कार्यलाई उजागर गर्नुका साथै कमजोरीको खबरदारी गर्नु आवश्यक रहेको बताए। उनले स्थानीय सरकार र सञ्चार क्षेत्रबीच निरन्तर सहकार्य भइरहेको उल्लेख गर्दै भने, “हामी निर्वाचित भएयता सञ्चारकर्मीहरूसँग सहयात्रा गरिरहेका छौँ।”
उनले पछिल्लो समय पत्रकारिता सामाजिक सञ्जालतर्फ केन्द्रित हुँदै गएको उल्लेख गर्दै गम्भीर र तथ्यमा आधारित समाचार लेखनमा ध्यान दिन आग्रह गरे। प्रमुख पाण्डेका अनुसार उपमहानगरपालिकाले सबै जाति, भाषा र धर्मका समुदायलाई समेटेर काम गरिरहेको छ।
कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्यालले बुटवलको विकासमा पत्रकारहरूको सकारात्मक भूमिका रहेको भन्दै समावेशीतालाई ध्यानमा राखी नगरले विभिन्न काम गरिरहेको जानकारी दिइन्। उनले कुनै पक्ष छुटेको भए आगामी दिनमा सच्याउने प्रतिबद्धता पनि व्यक्त गरिन्।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारिताको मूल दायित्व राज्यका निकायहरूको निगरानी र खबरदारी भएको बताउँदै त्यो दायित्वबाट विमुख नहुन आग्रह गरे।
कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष राम प्रसाद आचार्य, प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य सरु राना, महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, वरिष्ठ पत्रकार मदनलाल पौडेल तथा सञ्चारिका समूह रुपन्देही अध्यक्ष मिना ढकाल लगायतले पनि आ–आफ्ना धारणा राखेका थिए।









