गृहपृष्ठ जेन–जी आन्दोलन छानबिन गर्न उच्चस्तरीय आयोग
जेन–जी आन्दोलन छानबिन गर्न उच्चस्तरीय आयोग
आश्विन ६, २०८२
काठमाडौँ — सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको दमन, आगजनी र तोडफोडबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो। आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगलाई प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ। अध्यक्ष कार्कीले आयोग निष्पक्ष ढंगले काम गर्ने बताए। “दोषीलाई किटान गरेर कानुनअनुसार सजाय सिफारिस गर्नेछौँ,” उनले भने।
उक्त आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो भने दुई हजारभन्दा बढी घाइते भएका थिए। राजधानीलगायत विभिन्न स्थानमा सरकारी संरचना र निजी सम्पत्तिमा तोडफोड तथा आगजनी भएको थियो।










