गृहपृष्ठ कुवेतमा विषाक्त मदिरा सेवनबाट ६ नेपालीसहित १३ को मृत्यु, दर्जनौँको अवस्था गम्भीर

कुवेतमा विषाक्त मदिरा सेवनबाट ६ नेपालीसहित १३ को मृत्यु, दर्जनौँको अवस्था गम्भीर


 २०८२, ३० साउन

युएई — कुवेतमा अवैध तथा विषाक्त मदिरा सेवन गर्दा ६ जना नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश निर्माण क्षेत्रमा कार्यरत श्रमिक रहेका कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ। “धेरै जना उपचारमा छन्, केहीको शव अस्पतालमा राखिएको छ,” उनले बताए । मृतकमध्ये ८ भारतीय र केही नेपाली रहेको दूतावासको प्रारम्भिक जानकारी छ।

नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लका अनुसार मृत्यु हुने ६ नेपालीमध्ये ५ पुरुष र १ महिला छन्। तीमध्ये २ जनाको मृत्यु आदान अस्पतालमा र ४ जनाको सालबिया क्षेत्रस्थित मजदुर शिविरमा भएको हो।

कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार गत शनिवारदेखि विषाक्त मदिरा सेवन गरेर अस्पताल भर्ना हुनेको संख्या तीव्र रूपमा बढेको छ। बुधवारसम्म ६३ जना उपचारमा पुगेका मध्ये १३ जनाको मृत्यु भएको र ५१ जनाले मिर्गौला डायलासिस गराइरहेका छन्। २१ जनामा आंशिक वा पूर्ण दृष्टिदोष देखिएको छ भने ३१ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

कुवेतमा मदिरा पूर्ण रूपमा प्रतिबन्धित भए पनि लुकिछिपी उत्पादन र अवैध बिक्री हुने गरेको छ। प्रारम्भिक अनुसन्धानमा मदिरामा विषालु रसायन ‘मेथानोल’ मिसाइएको देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। मेथानोल सामान्यतया एन्टिफ्रिज, सोल्भेन्ट र इन्धन उत्पादनमा प्रयोग गरिन्छ तर मानव उपभोगका लागि पूर्णतः निषेधित पदार्थ हो।

मेथानोलयुक्त पेय पदार्थ पिएपछि टाउको दुखाइ, वाकवाकी, दृष्टि धुम्मिनु, कोमामा पुग्नुजस्ता लक्षण देखिने र मृत्यु समेत हुन सक्ने विशेषज्ञहरू बताउँछन्। यसअघि कोरोना महामारीको समयमा पनि यस्तै विषाक्त मदिरा सेवनका कारण १२ नेपालीको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु