गृहपृष्ठ स्वास्थ्य सेवाको विस्तारमा प्रशासनिक खर्च कटौती गर्नुपर्ने : मन्त्री पौडेल

स्वास्थ्य सेवाको विस्तारमा प्रशासनिक खर्च कटौती गर्नुपर्ने : मन्त्री पौडेल


काठमाडौं, वैशाख २९ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा उपचारलाई प्राथमिकता दिँदै प्रशासनिक ढाँचालाई साँघुरो बनाउनुपर्ने बताएका छन्। आइतवार भक्तपुर क्यान्सर अस्पतालमा पेडियाट्रिक अन्कोलोजी वार्ड तथा पिआइसियु (PICU) कक्षको उद्घाटन गर्दै मन्त्री पौडेलले उपचारका लागि प्रशासनिक कोठाहरू समेत प्रयोगमा ल्याउनुपर्ने बताए।

उनले भने, “स्वास्थ्य सेवामा प्रशासनिक क्षेत्रमा जनशक्ति थप्ने सम्भावना छैन। बरु प्रशासनलाई संकुचित बनाएर उपलब्ध पूर्वाधारलाई उपचारका लागि अधिकतम प्रयोग गर्नुपर्छ।”

मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पतालको भौतिक संरचना विस्तारका लागि जग्गाको अभाव रहेको उल्लेख गर्दै, यदि उपयुक्त स्थान भेटिएमा बहुवर्षीय योजना अन्तर्गत यो वर्षभित्रै पूर्वाधार निर्माण सुरु गर्न सकिने जनाए।

उनका अनुसार सरकारले १४ वर्षमुनिका क्यान्सर पीडित बालबालिकाको उपचार निःशुल्क गरिरहेको छ भने करिब ८० प्रतिशतसम्म औषधि पनि निःशुल्क उपलब्ध गराइएको छ। उनले हेमोफिलियाका बिरामीका लागि आवश्यक औषधि पनि अस्पतालमार्फत निःशुल्क वितरण भइरहेको जानकारी दिए।

जग्गा व्यवस्थापनमा स्थानीय तह र सरकारी निकायको सहयोग आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पौडेलले भने, “हामीले मात्रै चाहेर हुँदैन। स्थानीय नगरपालिकाले स्वीकृति दिनुपर्छ, सिडिओ कार्यालयले भूमिसुधार कार्यालयमार्फत प्रक्रिया छिटो अघि बढाउनु पर्छ। मैले ताकेता गरेर क्याबिनेटमा लैजान सक्छु तर जग्गा प्राप्त नभएसम्म योजना अघि बढ्दैन।”

उनले स्रोतको अभाव देखाउँदै चुप लाग्नुको सट्टा उपलब्ध स्रोत र संरचनाको भरपूर प्रयोगमार्फत सेवा विस्तार गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु