गृहपृष्ठ युद्धविरामपछि भारत–पाकिस्तानबीच सहजता : प्रतिबन्धहरू हट्न थाले, नागरिकहरूमा खुशीको माहोल
युद्धविरामपछि भारत–पाकिस्तानबीच सहजता : प्रतिबन्धहरू हट्न थाले, नागरिकहरूमा खुशीको माहोल
भारत र पाकिस्तानबीच पछिल्लो सैन्य तनावपछि भएको युद्धविरामले दुवै देशका सम्बन्धहरूमा केही सहजता ल्याएको छ। दुबै पक्षले आफ्ना देशभित्र लगाएका केही प्रतिबन्धहरू फुकुवा गर्न थालेका छन्।
पाकिस्तानले अघिल्लो तनावका कारण बन्द गरिएको आफ्नो सम्पूर्ण हवाई क्षेत्र पुनः सबै प्रकारका उडानका लागि खुला गरिसकेको छ। उता भारतले देशका विभिन्न क्षेत्रमा लगाइएको सूचना ब्ल्याकआउट हटाएको छ, र पाँच दिनदेखि बन्द रहेका विमानस्थलहरू क्रमशः सञ्चालन प्रक्रियामा फर्किरहेका छन्।
सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरू शान्तिपछि पुनः दैनिक जीवनमा फर्किन थालेका छन्। पसलहरू खुलेका छन्, जनजीवन सामान्य बन्दै गएको छ, र मानिसहरूबीच उत्साह देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दुबै देशका नागरिकहरूमा युद्धविरामपछि खुशीको माहोल देखिएको उल्लेख गरेका छन्।
तर भारतले केही कडा प्रतिबन्धहरू भने अहिले नै हटाउने छैन। हिन्दुस्तान टाइम्सका अनुसार, पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी हमलामा पाकिस्तानको संलग्नता रहेको आरोपपछि भारतले पाकिस्तानी नागरिकहरूलाई जारी गरेको भिसा प्रतिबन्ध कायम राख्ने निर्णय गरेको छ।
त्यस्तै, दुई देशबीचको सिन्धु जल सम्झौता निलम्बनमा पनि कुनै परिवर्तन भएको छैन। अन्य केही प्रतिबन्धहरूबारे भने भारतले अझै निर्णय नगरेको समाचार स्रोतहरू बताउँछन्।










