गृहपृष्ठ प्रेस सेन्टर नेपाल, रूपन्देहीले पत्रकार सुरक्षाको माग राख्दै बुझायो ज्ञापन पत्र .

प्रेस सेन्टर नेपाल, रूपन्देहीले पत्रकार सुरक्षाको माग राख्दै बुझायो ज्ञापन पत्र .


कल्पना घिमिरे बुटवल ,        प्रेस सेन्टर नेपाल, रूपन्देहीले पत्रकार सुरक्षाको माग राख्दै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय, भैरहवामा पुगेर प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेमार्फत उक्त ज्ञापनपत्र बुझाइएको हो। संगठनका जिल्ला सचिव सनु थापाले जानकारी दिएका छन्।

ज्ञापनपत्रमा पेशागत सुरक्षाका लागि संघर्षरत पत्रकारहरू हाल शारीरिक सुरक्षाको चुनौतीमा पनि परिरहेको उल्लेख गरिएको छ। जनयुद्धकालमा वेपत्ता भई हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’देखि हालै राजावादी समूहको आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकसम्मका हत्यारामाथि कानुनी कारबाही हुनुपर्ने माग गरिएको छ।

हालै सम्पन्न ३२औं विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा नेपालमा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि भएको र अन्तर्राष्ट्रिय सूचकांकमा नेपालको स्थान झरेकोप्रति पनि ज्ञापनपत्रमार्फत गम्भीर चिन्ता व्यक्त गरिएको छ।

साथै सञ्चारसम्बन्धी कानून निर्माणमा ढिलाइ भइरहेको, तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने प्रयासस्वरूप विधेयक ल्याउने तयारी भइरहेकाले ती कार्य तत्काल रोक्न र सरोकारवालासँग समन्वय गरेर अघि बढ्नुपर्ने माग समेत गरिएको छ।

देशभर एकसाथ ज्ञापनपत्र बुझाउने केन्द्रीय कार्यक्रमअनुसार रूपन्देहीमा पनि ज्ञापनपत्र बुझाइएको जिल्ला अध्यक्ष विष्णु पोखरेलले बताएका छन्।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले आफू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै पेश गरिएका मागहरूप्रति सकारात्मक धारणा व्यक्त गरेको प्रेस सेन्टरले जनाएको छ।

 मागहरु यी हुन्

१. परिवर्तनका लागि कलम चलाएकै कारणले तत्कालीन राज्यवाट हत्या गरिएका महान् सहिद कृष्ण सेन ‘इच्छुक’सहितका पत्रकारका हत्यारालाई कानूनी दायरामा ल्याउन र राज्यबाट बेपत्ता पारिएका पत्रकारहरु दीपेन्द्र शर्मा (दण्डपाणि न्यौपाने), मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, राजेन्द्र ढकालको अवस्था तत्काल सार्वजनिक गर्न माग गर्दछौं ।

२. एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्यामा संलग्न कथित राजावादी समूहका नाइकेहरुलाई कानूनी कारवाही गर्न र पत्रकार रजकलाई सहीद घोषणा तथा परिवारलाई उचित राहत प्रदान गरियोस् । कथित राजावादी समूहबाट विभिन्न सञ्चार गृहका सवारी साधन तोडफोड, विभिन्न सञ्चारकर्मीहरुमाथि भएको भौतिक आक्रमण, सञ्चार सामाग्री तोडफोडको घोर निन्दा गर्दै सञ्चार गृह र सञ्चारकर्मीहरुको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउँदछौं । 

३. संविधान कार्यान्वयनका लागि बन्नुपर्ने सञ्चार नीतिहरु अहिले पनि सरकारको प्राथमिकतामा नपरेकाले तत्काल संविधानको भावनाअनुसार पूर्ण प्रेस स्वतन्त्रतामैत्री कानून निर्माण गरियोस् । बनेका र बन्ने प्रक्रियामा रहेका कतिपय कानून प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध रहेकाप्रति प्रेस सेन्टर नेपालको गम्भीर चासो र चिन्ता छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विश्वव्यापी प्रेस स्वतन्त्रताको मूल मान्यता र नियन्त्रण भन्दा पनि नियमन उन्मुख कानून निर्माणमा सरकारको ध्यानाकर्षण गराउँदछौं । सञ्चार सम्बद्ध सरोकारवालाको वृहत् छलफलबाट मात्रै आवश्यक कानून निमर्माणको काम अघि वढाउन सरकारलाई आग्रह गर्दछौं। 

४. श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन गर्न र न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक तत्काल लागू गर्न माग गर्दछौं। कानून बन्ने र कार्यान्वयन नहुने अवस्थाको अन्त्यका लागि ऐनअनुसार तत्काल प्रेस रजिष्ट्रारको कार्यालय स्थापना र रजिष्ट्रार नियुक्त गर्न आग्रह गर्दछौं । 

५. पत्रकारको दक्षता अभिवृद्धिका लागि गठन गर्ने भनिएको आम सञ्चार प्रशिक्षण प्रतिष्ठान तत्काल गठन गर्न माग गर्दछौं । त्यस्तै पत्रकार वृत्ति कोषको कार्यान्वयनका लागि जारी गरिएको मापदण्ड तत्काल परिमार्जन गरेर जेष्ठ पत्रकारले सहज ढंगले वृत्तिकोषबाट लाभ लिनसक्ने प्रवन्ध गर्न ध्यानाकर्षण गर्दछौं । 

६. नेपाल सरकारले दिदै आएको लोककल्याणकारी विज्ञापनलाई बजेटमार्फत शतप्रतिशत वृद्धि र विज्ञापन ऐनमा भएको व्यवस्थाअनुसार तत्काल सवैप्रकारका सञ्चार माध्यमले पाउने गरी समानुपातिक विज्ञापन वितरण प्रणाली लागू गरियोस् । स्थानीय विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन र केन्द्रबाट वितरण हुने सरकारी विज्ञापन स्थानीय तहका सञ्चारमाध्यमले समेत पाउनेगरी समानुपातिक वितरण प्रणाली लागू गर्न तथा अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापन उपलव्ध गराउन माग गर्दछौं । 

७. पत्रकार दुर्घटना बिमालाई थप विस्तार गरी स्वास्थ्य विमा र जीवन विमाको व्यवस्था गर्न माग गर्दछौं । साथै, पत्रकारलाई सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट उपलब्ध गराइने भनेको ५० प्रतिशत छुटलगायतका पूर्व निर्णयहरु कार्यान्वयन गर्न माग गर्दछौं। सञ्चारकर्मीहरूले खरिद गर्ने सञ्चार सामग्री अनुदान र सञ्चारगृहका लागि सवारी साधन खरिद प्रक्रियामा भन्सार कर छुटको व्यवस्था गरियोस् । 

८. सङ्घीय सरकारको नीति तथा कार्यक्रममा समेटिएको स्वरोजगारमूलक मिडिया प्रवर्द्धनका लागि समानुपातिक विज्ञापन वितरण प्रणाली प्रदेश तथा स्थानीय तहबाट पनि लागू गर्न र स्थानीय विज्ञापन स्थानीय मिडियालाई अनिवार्य उपलब्ध गराउने व्यवस्था गर्न माग गरिन्छ। साथै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाललगायतका निकायहरूवाट प्रदान गरिने पत्रकार वृत्तिविकास अनुदान, सञ्चार उपकरण अनुदान, पुरस्कार/सम्मान पारदर्शी, समावेशी वनाइनुपर्ने र त्यसको सूचना समयमै सबैले प्राप्त गर्न मिल्नेगरी प्रवाह गर्न आग्रह गरिन्छ ।

९. सञ्चार माध्यम दर्ता प्रक्रियालाई सरल बनाउन, एकपटक दर्ता भइसकेपछि अन्य निकायहरूमा पुनः दर्ता/नविकरण गर्नुपर्ने झन्झटिलो व्यवस्था खारेज गरेर सहज रुपमा दर्ता गर्ने प्रवन्ध गरियोस् । महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत वर्गले सञ्चालन गरेका साना लगानीका मिडियालाई विशेष प्रोत्साहन गर्न तीनै तहमा सञ्चारलगायत सबै क्षेत्रमा महिलाको सहभागिता कम्तिमा ३३ प्रतिशत सुनिश्चित गर्न माग गर्दछौं । 

१०. संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता लगायतका नेपाली जनताको लामो संघर्षपछि प्राप्त उपलब्धि र संविधानमाथिको प्रहार रोक्न माग गर्दछौं । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु