गृहपृष्ठ १२ वर्षपछि तेस्रो परीक्षणको तयारीमा मध्य भोटेकोसी, अब उत्पादनको आशा

१२ वर्षपछि तेस्रो परीक्षणको तयारीमा मध्य भोटेकोसी, अब उत्पादनको आशा


काठमाडौं, जेठ ११ — दशकभन्दा बढी समयदेखि निर्माणमा अल्झिएको मध्य भोटेकोसी जलविद्युत् आयोजना तेस्रोपटक सुरुङ परीक्षणको तयारीमा जुटेको छ। दुईपटकको असफल परीक्षणपछि आयोजनाले सुरुङ मर्मत र प्रसारण लाइन निर्माणका बाँकी कामहरू पूरा गर्दै जेठभित्र पुनः परीक्षण गर्ने तयारी गरेको छ।

१०२ मेगावाट क्षमताको आयोजनाले २०८० पुस र २०८१ कात्तिकमा सुरुङ परीक्षण गर्दा दुबैपटक चुहावट देखिएको थियो। आयोजनाका प्रमुख रामगोपाल शिवाकोटीका अनुसार सुरुङको चुहावट भएको स्थानमा ‘रेट्रोफिकेसन’ कार्य सम्पन्न भइसकेको छ र अब परीक्षणबाट उत्पादन प्रारम्भ गर्ने अन्तिम तयारी भइरहेको छ।

“हामी जेनेरेसनको अन्तिम चरणमा छौं,” शिवाकोटीले भने, “केही प्रसारण लाइनका काम बाँकी छन्, ती सकिएलगत्तै विद्युत् उत्पादन सुरु हुन्छ।”

पटक–पटकको ढिलाइ, लागत २० अर्ब नाघ्यो

१२ अर्ब २८ करोडको अनुमानित लागतमा सुरु भएको आयोजनाको खर्च हाल २० अर्ब नाघिसकेको छ। विद्युत् खरिद–बिक्री सम्झौता (PPA) २०६८ मा भए पनि १४ वर्षसम्म बिजुली उत्पादन सम्भव नभएको अवस्था छ। आयोजना सुरु गर्दा चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो, तर २०७० देखि सुरुआत गरिएको निर्माण कार्यमा भूकम्प, नाकाबन्दी, कोभिड–१९ लगायतका कारणले पटक–पटक ढिलाइ भयो।

सुरुङ परीक्षणका क्रममा गुणस्तरहीन मर्मतले गर्दा पनि समस्या देखिएको हो। पहिलोपटक ‘वेट टेस्ट’ गर्दा ग्राउन्डेड विधि प्रयोग गरिएकाले सुरुङमा पुनः चुहावट देखिएको थियो।

प्रसारण लाइनमा राजनीतिक अवरोध

आयोजनाको प्रसारण लाइन निर्माणमा पनि लामो समय अवरोध भयो। २०७४ मा काम सुरु भएपनि स्थानीय तथा राजनीतिक हस्तक्षेपका कारण झण्डै डेढ वर्ष काम ठप्प भयो। सिन्धुपाल्चोकका तत्कालीन कांग्रेस नेता मोहन बस्नेतले सीएसआरअन्तर्गत ठुलो रकम माग गरेको कम्पनीको दाबी छ।

अन्ततः ११ करोड रुपैयाँ सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराउने सहमतिपछि २०८१ भदौमा प्रसारण लाइनको काम पुनः सुरु गरिएको थियो।

चार किलोमिटर लम्बाइको प्रसारण लाइनमध्ये हाल दुई किलोमिटरको काम सम्पन्न भइसकेको छ। खिम्ती–बाह्रबिसे ४०० केभी प्रसारण लाइन निर्माणमा समेत प्रगति भइरहेको शिवाकोटीले बताए। सुरुमा ४०० केभी प्रसारण लाइन प्रयोग गर्ने योजना भए पनि तत्कालका लागि २२० केभीको लाइनमार्फत परीक्षण गर्ने तयारी छ।

स्वामित्व र सेयर मूल्यमा गिरावट

मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडमा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, चिलिमे जलविद्युत कम्पनीको ३७ प्रतिशत तथा अन्य संस्थागत लगानीकर्ता मिलाएर ५१ प्रतिशत संस्थापक सेयर छ। बाँकी ४९ प्रतिशतमा कर्मचारी सञ्चय कोष, स्थानीय बासिन्दा र सर्वसाधारणको सेयर रहेको छ।

तर, विद्युत् उत्पादन नहुँदा कम्पनीको सेयर मूल्य लगातार घट्दो छ। एक समय ४३३ रुपैयाँ पुगेको सेयर मूल्य हाल ३१२ रुपैयाँमा झरेको छ।

उत्पादनपछि वार्षिक २ अर्ब ८० करोड आम्दानीको अनुमान

उत्पादन सुरु भएपछि आयोजना वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यमा छ। नेपाल विद्युत् प्राधिकरणले हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र वर्षायाममा ४.८० रुपैयाँ दरमा विद्युत् खरिद गर्नेछ। कम्पनीले वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।

दशकौं लामो प्रतीक्षापछि अब तेस्रो परीक्षण सफल भएमा मध्य भोटेकोसी आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादनको बाटो खुल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु