गृहपृष्ठ समाजसेवामै अनुकरणीय वाग्ला लाहाँटा–रुपन्देही सम्पर्क समाज : पहिलो अधिवेशनमै सहयोग र मानवीयता

समाजसेवामै अनुकरणीय वाग्ला लाहाँटा–रुपन्देही सम्पर्क समाज : पहिलो अधिवेशनमै सहयोग र मानवीयता


२०८२ भदौ ७

कल्पना घिमिरे

बुटवल । संघ–संस्था वा सम्पर्क समाजहरूको पहिलो अधिवेशन प्रायः औपचारिकता, निर्वाचन र भोजभतेरमै सीमित हुने गर्छ। तर गुल्मीको वाग्ला लाहाँटा–रुपन्देही सम्पर्क समाजले भने आफ्नै पहिलो अधिवेशनलाई समाजसेवामुखी कार्य र मानवीय सहयोगमार्फत उदाहरणीय बनाएको छ।

शनिबार सम्पन्न भएको समाजको पहिलो अधिवेशन, पाँचौँ साधारणसभा, सहयोग हस्तान्तरण तथा तीज मिलन कार्यक्रम केवल औपचारिकतामा सीमित रहेन। कार्यक्रममा घाइते रामु नेपालीलाई सहयोग रकम हस्तान्तरणदेखि ज्येष्ठ नागरिक सम्मान र सदस्य प्रमाणपत्र वितरणसम्मका गतिविधिले संस्थाको प्राथमिकता “सामाजिक उत्तरदायित्व” नै भएको सन्देश दिएको छ।  

सल्लाहकार पन्थीको दृष्टि : समाजसेवा र मौलिकता

उद्घाटन गर्दै भैरहवा भन्सार एजेन्ट संघका अध्यक्ष तथा समाजका सल्लाहकार मधुप्रसाद पन्थीले वाग्ला लाहाँटा–रुपन्देही सम्पर्क समाज छोटो समयमै अनुकरणीय काम गर्न सफल भएको उल्लेख गरे।
उनका अनुसार, “समाजको कार्यक्रम केवल जमघट होइन, समाज परिवर्तनको थालनी हो। तीज पर्वलाई समानता, अधिकार र आत्मनिर्भरता प्रवर्द्धन गर्ने अवसरका रूपमा अघि बढाउनुपर्छ।”


प्रतिवेदन र भविष्यको बाटो

कार्यबाहक अध्यक्ष कमल पन्थीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समाज स्थापनाको मूल उद्देश्य “वाग्ला लाहाँटाबाट रुपन्देही आइपुगेका मानिसहरुलाई एक ठाउँमा जोड्ने” भएको स्मरण गरे।
उनले बिरामी अध्यक्ष बाबुराम पन्थी र सदस्य कृष्णप्रसाद पन्थीको स्वास्थ्यलाभको कामना गर्दै भविष्यमा समाजलाई अझ सहयोगी, उत्तरदायी र नवप्रवर्तनशील बनाउने योजनाबारे जानकारी गराए।

कोषाध्यक्ष अनिल पन्थीले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै पारदर्शिता र विश्वासलाई संस्थाको मेरुदण्ड भएको बताए।

अधिवेशनले पुनः बाबुराम पन्थीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। अन्य पदाधिकारीमा उपाध्यक्ष कमल पन्थी, सचिव नारायण पोखरेल, सहसचिव भिष्मराज पन्थी, कोषाध्यक्ष अनिल पन्थी तथा सदस्यमा शुवासचन्द्र पन्थी, विष्णुप्रसाद पन्थी, गोविन्दप्रसाद पन्थी, जीवन पन्थी, टिकाराम पन्थी र सरस्वता पोखरेल निर्वाचित भएका छन्।
हाल समाजमा ६७ सदस्य छन्, जसले भविष्यमा अझ व्यापक समाजसेवामुखी अभियान सुरु गर्ने संकल्प व्यक्त गरेका छन्।

समाजसेवा मात्र होइन, संस्कृतिको जगेर्ना पनि कार्यक्रममा सशक्त देखियो। सहभागी महिला

घाइतेका लागि ‘रामु नेपाली बचाऔँ अभियान’

समाजले सुरु गरेको ‘रामु नेपाली बचाऔँ अभियान’ कार्यक्रमकै केन्द्रमा रह्यो। वाग्लाको जाउनेका रामु नेपाली रुखबाट लडेर गम्भीर घाइते भएपछि उपचारका लागि ठूलो रकम आवश्यक भएको थियो।
समाजका सदस्य र शुभेच्छुकबाट संकलन भएको ४० हजार ७२८ रुपैयाँ बराबरको चेक कार्यक्रमकै बीचमा उनकी पत्नी सरिता नेपालीलाई हस्तान्तरण गरियो।
सहयोग हस्तान्तरणको क्षण केवल आर्थिक सहयोग मात्र होइन, समाजले आपत्–विपत्मा आफ्ना सदस्यलाई नछाड्ने दृढतापूर्वक सन्देश पनि थियो।


ज्येष्ठ नागरिक र सदस्यप्रतिको सम्मान

कार्यक्रममा समाजका ज्येष्ठ नागरिक बुबा–आमाहरुलाई सम्मान गरियो। यससँगै साधारण तथा आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेर संस्थाले सदस्यताको मूल्यलाई पनि उच्च बनाएको छ।
यो कार्यले सदस्यमा थप ऊर्जा, गर्व र जिम्मेवारी जगाएको सहभागीहरुले बताएका छन्

मानवीयता र उदाहरण

संस्थागत संरचना, आर्थिक प्रतिवेदन वा नेतृत्व चयन कुनै पनि समाजको नियमित प्रक्रिया हुन्। तर वाग्ला लाहाँटा–रुपन्देही सम्पर्क समाजले पहिलो अधिवेशनमै “संकलन गरिएको रकम पीडितलाई तत्काल सहयोग गर्ने, ज्येष्ठलाई सम्मान गर्ने र संस्कृतिलाई जोड्ने” काम गरेर आफूलाई समाजसेवामुखी आदर्श संस्थाको रूपमा स्थापित गरेको छ।

यसरी, पहिलो अधिवेशनले संस्थागत यात्रा मात्र सुरु गरेन, समाज र संस्कृतिसँगै मानवीयताको मार्गमा कदम बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु