गृहपृष्ठ मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड निर्माण अन्तिम चरणमा: पुर्वधार मन्त्रालय
मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड निर्माण अन्तिम चरणमा: पुर्वधार मन्त्रालय
असाेज १३, २०८३
बुटवल टाइम्स
काठमाडौ – मुग्लिन–पोखरा सडक आयोजनाको आबुखैरेनी–पोखरा पश्चिम खण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
पश्चिम खण्डमा विद्युत् पोल स्थानान्तरण, मादी पुलको पहुँच मार्गका लागि जग्गा प्राप्ति तथा दमौली डिभिजन कार्यालयको भवन स्थानान्तरणमा देखिएका समस्या समाधान भएपछि निर्माणले गति लिएको हो।
पूर्वाधार विकास मन्त्रालयको सहजीकरणमा विद्युत् पोल स्थानान्तरण सम्पन्न भएको छ भने मादी पुलको एप्रोच रोडका लागि आवश्यक विवाद समाधान गरिएको छ। दमौली डिभिजनको नयाँ भवन निर्माणका लागि सहमति जुटाई टेन्डरमार्फत प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
आयोजनाको आबुखैरेनी–जामुने पूर्वी खण्डको निर्माण सम्पन्न भइसकेको छ। जामुने–पोखरा ३८.४१ किलोमिटर पश्चिम खण्डको निर्माण आगामी नोभेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मुख्य चार लेन सडक निर्माण सम्पन्न भइसकेको छ भने ३८ किलोमिटर सर्भिस लेनमध्ये करिब ३२ किलोमिटर निर्माण पूरा भएको छ।
३१० मिटर लामो मादी आर्क ब्रिज निर्माण सम्पन्न भइसकेको छ भने फिनिसिङ र पहुँच सडकको काम बाँकी छ। १९० मिटर लामो सेती पुलको करिब ७० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम आगामी अप्रिलसम्म पूरा गर्ने तालिका छ।
सडक सुरक्षाका लागि जोखिमयुक्त पहिरोको दिगो रोकथाम तथा मुग्लिन–आबुखैरेनी खण्डको करिब ४ किलोमिटर सडक मर्स्याङ्दी नदीपारिबाट निर्माण गर्ने ठेक्का प्रक्रिया पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

















