गृहपृष्ठ मत बराबरको बोटबिरुवा: सिद्धार्थनगरमा हरियाली विस्तारमा ऐतिहासिक योगदान
मत बराबरको बोटबिरुवा: सिद्धार्थनगरमा हरियाली विस्तारमा ऐतिहासिक योगदान
कल्पना घिमिरे मङ्गलबार, १६ वैशाख २०८२
नेपाल–भारत सीमावर्ती क्षेत्र भैरहवा अवस्थित सिद्धार्थनगर नगरपालिका पर्यटकीय, औद्योगिक र व्यापारिक केन्द्रका रूपमा पहिचान बनाउँदै गएको छ। बुद्ध जन्मस्थल लुम्बिनीको प्रमुख प्रवेशद्वारका रूपमा परिचित यो सहरले हालै ‘हरित नगर’को अभियानमार्फत वातावरणीय सौन्दर्यतामा उल्लेखनीय फड्को मारेको छ।
नगरप्रमुख इस्तियाक अहमद खानले निर्वाचनताका जनतासँग व्यक्त गरेको ‘जति मत, उति बिरुवा’ भन्ने संकल्पलाई कार्यान्वयन गर्दै अहिलेसम्म करिब २० हजार भन्दा बढी बोटबिरुवा रोपिएको नगरपालिकाले जनाएको छ। खानले २०७९ सालको स्थानीय निर्वाचनमा प्राप्त ९ हजार १३४ मतअनुसार बिरुवा रोप्ने संकल्प गरेका थिए। तर त्यो संख्याभन्दा दोब्बर बिरुवा रोपिएको हो।
नगर प्रमुख खान भन्छन्, “वृक्षारोपण करले होइन, रहरले गरिनुपर्छ। यसले वातावरण संरक्षण मात्र होइन, सहरको सौन्दर्य र जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ।”
नगरपालिका कार्यालय, विभिन्न संघसंस्था, टोल विकास संस्था, आमा समूह, युवा क्लबको समन्वयमा वृक्षारोपण कार्य भइरहेको छ। बेलहियादेखि अञ्चलपुरसम्म करिब ७ किलोमिटर सडक किनारमा अमला, लिची, एभोगाडो, कटहर, आँप, कपुर, रुद्राक्ष, अर्जुन, पीपल, गुलाब, स्वामी लगायतका बिरुवा रोपिएका छन्।
सदरमुकाम नजिकका बैङ्क रोड, नारायण पथ, मिलन चोक, बुद्ध चोक, देवकोटा चोक लगायत मुख्य सडकमा हरियाली विस्तार भएको छ। नगरपालिकाले बिरुवाको संरक्षण र स्याहारका लागि २ वटा पानी ट्यांकर र ४ जना कर्मचारी परिचालन गरेको जानकारी प्रमुख प्रशासकीय अधिकृत जनक थापाले दिए।
उपप्रमुख उमा अधिकारी भन्छिन्, “नगरवासीको सहकार्यमा रोपिएका बिरुवाको संरक्षण, सिँचाइ र गोडमेलको काम नियमित रूपमा भइरहेको छ। हामी सिद्धार्थनगरलाई ‘क्लिन, ग्रिन र इको-फ्रेन्ड्ली सिटी’ बनाउने दिशामा अघि बढिरहेका छौं।”
नगरपालिकाको कृषि शाखाका प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार, आगामी असारमा मात्रै ४ हजार फलफूल र फूलका बिरुवाहरू अनुदानमा वितरण गर्ने योजना छ।
सीमा नजिक भएकाले नगर क्षेत्रमा पान, सुपारी, गुट्का आदिको विक्री तथा जथाभावी थुक्ने प्रवृत्तिले विगतमा सहरको सौन्दर्यमा गिरावट ल्याएको थियो। यस्ता क्रियाकलापमा रोक लगाउने अभियानसँगै सहर थप सफा र आकर्षक बन्दै गएको स्थानीयवासीहरू बताउँछन्।
स्थानीय दीपक विश्वकर्मा भन्छन्, “पहिले सहर फोहोर थियो, अहिले हरियाली र सफा भएको छ।” अर्का स्थानीय विकास थापा थप्छन्, “नगरप्रमुखको अभियान सराहनीय छ, यसको संरक्षण हामी सबैको जिम्मेवारी हो।”










