गृहपृष्ठ बंगलादेशमा राजनीतिक ध्रुवीकरण चुलियो
बंगलादेशमा राजनीतिक ध्रुवीकरण चुलियो
ढाका, बंगलादेश — बंगलादेशको गोपालगञ्ज जिल्लामा बुधबार भएको एक राजनीतिक र्याली हिंसात्मक झडपमा परिणत हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। नेशनल सिटिजन पार्टी (एनसीपी) द्वारा आयोजित ‘जुलाई क्रान्ति’को वार्षिक र्यालीलाई लिएर उत्पन्न तनाव हिंसात्मक रूप लिएको हो।
स्थानीय पत्रिका द डेली स्टार र अन्तर्राष्ट्रिय समाचार संस्था एएफपी का अनुसार अवामी लिग (एएल) समर्थकहरूले र्यालीको विरोध गर्न थालेपछि स्थिति नियन्त्रणबाहिर गयो। झडपका क्रममा बाँसका लट्ठी, ढुंगामुढा र अन्य घरेलु हतियारको प्रयोग गरिएको थियो।
प्रहरी, सेना र सीमा सुरक्षा बल (बीजीबी) सँगको भिडन्तमा चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ। मृतकमध्ये रामजान सिकदर, दिप्तो साहा, रामजान काजी र सोहेल मोल्ला रहेको द डेली स्टार ले जनाएको छ। दर्जनौं प्रदर्शनकारी घाइते छन् भने केहीको अवस्था गम्भीर छ।
राजनीतिक तनावको ऐतिहासिक पृष्ठभूमि
गोपालगञ्ज जिल्ला बंगलादेशका संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमान र पूर्वप्रधानमन्त्री शेख हसिनाको गृह जिल्ला हो। यही कारण यो क्षेत्र ऐतिहासिक रूपमा अवामी लिगको बलियो आधार मानिन्छ। यद्यपि, गत वर्ष अगस्टमा शेख हसिनाको सरकार पतन भएपछि बंगलादेशमा सत्ता रिक्तता र अस्थिरता बढ्दो क्रममा रहेको छ।
अहिले देशमा कार्यरत अन्तरिम सरकार नेतृत्वमा रहेका मोहम्मद युनुसले घटनालाई “मौलिक अधिकारमाथिको लज्जास्पद हमला” भनी अभिव्यक्ति दिएका छन्। उनले हिंसाका लागि अवामी लिग र यसको विद्यार्थी संगठन छत्र लिगलाई प्रत्यक्ष दोषी ठहर गरेका छन्।
राजनीतिक दलहरूको प्रतिक्रिया र आन्तरिक आरोपप्रत्यारोप
एनसीपी संयोजक हसनत अब्दुल्लाहका अनुसार उनीहरू र्यालीमा सहभागी हुँदा अवामी लिग समर्थकहरूले धम्की दिन थालेका थिए र अन्ततः हिंसा भड्किएको थियो। “हामीलाई जिउँदै जलाउने धम्की दिइएको थियो,” उनले बताए। र्यालीपछि उनीहरू प्रहरी कार्यालयमा शरण लिन बाध्य भएका थिए।
एनसीपीले घटनाको विरोधमा देशव्यापी नाकाबन्दीको घोषणा गरेको छ। उता बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) र इस्लामी दल जमात–ए–इस्लामीले पनि हिंसाको कडा निन्दा गरेका छन्।
सुरक्षा संकट र अन्तरिम सरकारमाथि प्रश्न
राजनीतिक स्थायित्व पुनःस्थापना गर्न गठित अन्तरिम सरकारले सुरक्षा स्थिति नियन्त्रणमा लिन नसकेको भन्दै जनस्तरमा आलोचना बढेको छ। लगातार बढ्दै गएको हिंसा, भीड नियन्त्रणमा कमजोरी र कानुनी शासनको न्यून प्रभावकारिताले बंगलादेशको लोकतान्त्रिक संक्रमणमाथि गम्भीर प्रश्न खडा गरिरहेको छ।
हिंसापछि बुधबार रात ८ बजेदेखि गोपालगञ्जमा २२ घण्टे कफ्र्यू लागू गरिएको छ। सुरक्षाकर्मीहरू व्यापक रूपमा तैनाथ गरिएका छन्।










