गृहपृष्ठ नेकपा एकीकृत समाजवादीको सैद्धान्तिक आधारमा मात्रै पार्टी एकता सम्भव: अध्यक्ष माधव नेपाल
नेकपा एकीकृत समाजवादीको सैद्धान्तिक आधारमा मात्रै पार्टी एकता सम्भव: अध्यक्ष माधव नेपाल
कार्तिक १२, २०८२
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुनै कम्युनिस्ट घटकसँग एकताको सम्भावना आएमा त्यसलाई नकारात्मक रूपमा लिन नहुने बताएका छन्।
तर, हालैको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लेख छ कि आफ्नै पार्टीको सैद्धान्तिक अवधारणा छोडेर कसैसँग पनि पार्टी एकता गर्न सकिँदैन।
प्रतिवेदनमा भनिएको छ, “पार्टीको दशौं महाधिवेशनबाट पारित दस्तावेजहरूमा हाम्रो धारणा स्पष्ट छ – पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (……)’ नै हुनुपर्दछ। नेपाली समाज क्रान्तिकाजनक चरण पार गरी समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको मान्नुपर्छ। आम नेपाली जनता र दलाल, नोकरशाही तथा पुँजीपति वर्गबीचको अन्तर्विरोध वर्तमान समाजको प्रधान अन्तर्विरोध हो। पार्टी र क्रान्तिको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद मात्रै हुनुपर्छ, र सङ्गठनात्मक सिद्धान्त लेनिनवादी हुनुपर्छ।”
साथै, प्रतिवेदनमा पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद, समाजवादी कार्यदिशा, नेपाली विशेषतासँग मेल खाने समाजवादी कार्यक्रम र साम्राज्यवाद, प्रभुत्ववाद तथा नवउपनिवेशवादको विरोध गर्दै राष्ट्रको विकास, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, समानता र जनताका हक अधिकारको पक्षमा दृढतापूर्वक संघर्ष गर्ने प्रतिबद्धता रहेको उल्लेख छ। यस आधारमा अध्यक्ष नेपाल माओवादीसँग एकताका लागि तयार रहेको स्पष्ट भए पनि, प्रतिवेदनले भनेको छ:
“यी सैद्धान्तिक अवधारणाहरू छोडेर कसैसँग पनि पार्टी एकता सम्भव छैन। तर यदि समान धारणा भएका कम्युनिस्ट घटकसँग एकताको अवसर आएमा त्यसलाई नकारात्मक रूपमा लिनु हुँदैन। यिनै सैद्धान्तिक आधारमा पार्टी एकता गर्न सकिने हो भने त्यसका लागि पहल गर्न हामी तत्पर रहनुपर्छ।”

















