गृहपृष्ठ इन्टरनेटबाट सीप, गड्यौला मल उत्पादनमा विद्यार्थीको सफलता
इन्टरनेटबाट सीप, गड्यौला मल उत्पादनमा विद्यार्थीको सफलता
भाद्र २२, २०८२
भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारले गड्यौला मल उत्पादनमार्फत आकर्षक आम्दानी गर्न थालेका छन्। सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत उनले इन्टरनेटबाट सिकेर दुई वर्षअघि रु चार लाख लगानीमा चार ब्याडबाट व्यवसाय सुरु गरेका थिए।
सुरुआती सफलतापछि उत्पादन विस्तार गरी उनले अहिले २५ ब्याड सञ्चालन गरेका छन्। “माग धेरै आउन थालेपछि उत्पादन बढाएँ, तर पनि बजारको माग पूरा गर्न सकिएको छैन,” सुनारले भने। उनका अनुसार उत्पादन कैलालीसम्म बिक्री हुने गरेको छ।
हाल एक महिनामै उनले झन्डै रु १ लाख ५० हजार बराबरको मल बिक्री गरेका छन्। तीन महिनामा मात्र ४८ क्विन्टल बढी मल प्रतिकिलो रु २५ मा बिक्री भएको छ। बजार मागअनुसार अझै बढी उत्पादन गर्ने योजनामा उनी छन्।
गड्यौला मललाई रासायनिक मलको विकल्पका रूपमा किसानले अपनाइरहेका छन्। यस मलले माटोको उर्वराशक्ति बढाउनुका साथै स्वास्थ्य र वातावरणमैत्री भएकाले माग बढेको हो। विज्ञहरूका अनुसार यसमा सामान्य माटोभन्दा पाँच गुणा बढी नाइट्रोजन, सात गुणा बढी फस्फोरस र ११ गुणा बढी पोटास पाइने भएकाले खेतीबालीका लागि अत्यन्त उपयोगी मानिन्छ।









