गृहपृष्ठ दाउन्ने सडकखण्डमा थप १५ दिन राति सवारी आवागमन निषेध, सडक विस्तारलाई तीव्रता
दाउन्ने सडकखण्डमा थप १५ दिन राति सवारी आवागमन निषेध, सडक विस्तारलाई तीव्रता
वैशाख १६, २०८२
परासी— पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा थप १५ दिन रातको समयमा यातायात रोकेर मर्मत तथा विस्तारको काम गरिने भएको छ। नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत पर्ने यस क्षेत्रमा आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर निर्माण कार्य अगाडि बढाइनेछ।
सडक विभागले सार्वजनिक सूचना जारी गर्दै वैशाख ३१ गतेसम्म प्रत्येक राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक ६ घन्टा दाउन्ने क्षेत्रमा सवारी आवागमन रोक्ने जानकारी दिएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माण कार्य अझै केही दिन निरन्तर चल्ने भएकाले वैशाख ३१ गतेसम्म राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ।
‘दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र विस्तारको कामलाई रातिको समयमा तीव्रता दिइएको छ,’ प्रमुख पाण्डेले बताए, ‘विशेषगरी सडक भित्तातर्फको कटिङ कार्य बाँकी रहेकाले वर्षा सुरु हुनु अघि नै सम्पन्न गर्न रातको समयमा सवारी रोक्ने निर्णय गरिएको हो।’
यसअघि दाउन्ने सडकखण्डमा चैत २७ देखि ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजेसम्म र २०८२ साल वैशाख १ गतेदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।
हाल दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल निर्माण गर्ने र कल्भर्ट निर्माणको कार्य भइरहेको जानकारी पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले दिएका छन्।
उक्त कार्य छिटो सम्पन्न गर्न सवारी रोकेर निर्माण कार्य अगाडि बढाइएको बुटवल–नारायणगढ सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी शशांक मिश्रले जानकारी दिए।
सडक बन्द भएको समयमा पूर्वतर्फ मालवाहक सवारीका लागि अरुणखोला–चोरमारा क्षेत्रमा र यात्रुवाहक तथा साना सवारीका लागि दुम्किबास क्षेत्रमा रोक्ने व्यवस्था गरिएको छ। पश्चिमतर्फ बर्दघाट र ज्यामिरे क्षेत्रमा सवारी रोक्नका लागि सडक विभागले आग्रह गरेको छ।
नारायणगढ–बुटवल सडकको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ ।
१७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।











