गृहपृष्ठ जम्मु कश्मीरको ‘मिनी स्वीट्जरल्यान्ड’ मा नेपाली युवा सुदीप न्यौपानेको मृत्यु, आतंकवादले पर्यटकको जीवन लियो

जम्मु कश्मीरको ‘मिनी स्वीट्जरल्यान्ड’ मा नेपाली युवा सुदीप न्यौपानेको मृत्यु, आतंकवादले पर्यटकको जीवन लियो


१० वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सुदीप न्यौपानेको मृत्यु भएको जानकारी दिएका छन्।

नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका न्यौपाने बिदाको समयमा आमासँगै घुम्न गएका बेला उक्त घटनामा परी निधन भएको मन्त्री लेखकले बताए।

‘रुपन्देहीका सुदीप न्यौपाने आमासहित घुम्न जानुभएको थियो, त्यसै क्रममा यो घटना भएको जानकारी आएको छ,’ बिहीबार सुरक्षा संवाददाताहरूसँगको अन्तरक्रियामा गृहमन्त्रीले भने, ‘यो प्रारम्भिक जानकारी हो।’

उनका अनुसार दूतावासमार्फत थप विवरण सङ्कलन गर्ने प्रक्रिया जारी छ।

मंगलबार जम्मु कश्मीरको चर्चित पर्यटकीय गन्तव्य बैसारन, पहलगाममा पर्यटकहरूलाई लक्षित गरी गरिएको आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको थियो।

बैसारन पहलगामबाट ६ किलोमिटर टाढा अवस्थित अत्यन्तै सुन्दर स्थान हो, जसलाई स्थानीयले ‘मिनी स्वीट्जरल्यान्ड’ पनि भन्ने गर्दछन्। भारतीय मिडियाका अनुसार, आतंकवादीहरूले नियन्त्रणमा लिएर नाम सोधी–सोधी पर्यटकहरूलाई गोली हानेर हत्या गरेका थिए।

दैनिक भाष्करले प्रकाशित समाचारअनुसार, मारिएका व्यक्तिहरूमा नेपाल र यूएईका नागरिकका साथै भारतको गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिकहरू छन्। घटनामा केही पर्यटक घाइते पनि भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु