गृहपृष्ठ मुण्डन संस्कारस्थल व्यवस्थित गर्न सदस्य सचिव पाण्डेको सक्रियता
मुण्डन संस्कारस्थल व्यवस्थित गर्न सदस्य सचिव पाण्डेको सक्रियता
मंसिर ,११, २०८३
बुटवल टाइम्स
कल्पना घिमिरे
रूपन्देही । लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा सञ्चालन हुँदै आएको मुण्डन संस्कारलाई व्यवस्थित, सुरक्षित र सहज बनाउन लुम्बिनी विकास कोषले पहल अघि बढाएको छ।
लुम्बिनी गुरुयोजनाअन्तर्गतको पवित्र उद्यान क्षेत्र संरक्षित स्मारक क्षेत्रभित्र पर्ने भएकाले यहाँ विकास निर्माणका कार्य निर्धारित प्रक्रिया र सम्पदा संरक्षणका मापदण्डअनुसार गर्नुपर्ने व्यवस्था छ।
मायादेवी मन्दिरको छेउमा स्थानीय समुदायमा प्रचलित मुण्डन संस्कारलाई व्यवस्थित बनाउन छुट्याइएको स्थानसम्म पुग्ने बाटो तथा पार्किङ निर्माणमा भएको ढिलाइबारे लुम्बिनी विकास कोषका सदस्य सचिव इ. सन्तोष पाण्डेयले सम्बन्धित पक्षसँग जानकारी लिनुभएको छ।
उहाँले बाटो तथा पार्किङ निर्माण कार्य शीघ्र सम्पन्न गर्न आवश्यक समन्वय र पहल गर्नुभएको छ। निर्माण कार्य पूरा भएपछि मुण्डन संस्कारका लागि आउने आगन्तुक तथा सेवाग्राहीलाई आवागमनमा सहज हुने अपेक्षा गरिएको छ।
त्यस्तै, हाल मुण्डन संस्कार हुँदै आएको स्थानमा आवश्यक टहरा निर्माण, शौचालय, सरसफाइ तथा सुरक्षाको व्यवस्था पनि कोषले मिलाउने भएको छ।
धार्मिक तथा सांस्कृतिक परम्पराको सम्मान गर्दै पवित्र उद्यान क्षेत्रको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व र सम्पदा संरक्षणलाई समेत ध्यानमा राखेर मुण्डन संस्कारलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित कोषले काम अघि बढाएको जनाएको छ।
















