गृहपृष्ठ सदस्य सचिव पाण्डेयको पहलमा लुम्बिनीका विद्युतीय सवारी पुनः सञ्चालनको तयारी
सदस्य सचिव पाण्डेयको पहलमा लुम्बिनीका विद्युतीय सवारी पुनः सञ्चालनको तयारी
मंसिर ९ , २०८३
बुटवल टाइम्स
कल्पना घिमिरेरूपन्देही । लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका लुम्बिनीका विद्युतीय सवारीसाधन पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ। लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र तीर्थयात्रीको आवागमनलाई सहज, सरल र सुविधाजनक बनाउने उद्देश्यले लुम्बिनी विकास कोषले विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउने पहल थालेको हो।
एसियाली विकास बैंक (ADB) को सहयोगमा उपलब्ध गराइएका १९ वटा विद्युतीय सवारीसाधन आवश्यक मर्मतसम्भार तथा व्यवस्थापन गरी पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ। ती सवारीसाधनमध्ये १४ वटा विद्युतीय भ्यान र ५ वटा बस रहेका छन्।
लुम्बिनी विकास कोषका सदस्य सचिव इ. सन्तोष पाण्डेयले लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका सवारीसाधनको अवस्थाबारे चासो देखाउँदै तिनलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाउन पहल गर्नुभएको छ। कोषसँग उपलब्ध स्रोतसाधनलाई उपयोगमा ल्याउँदै पर्यटकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले यो पहल अघि बढाइएको हो।
लुम्बिनीको मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा आउने पर्यटक र तीर्थयात्रीलाई एक स्थानबाट अर्को स्थानसम्म पुग्न सहज यातायात सुविधा उपलब्ध गराउन विद्युतीय सवारीसाधन उपयोगी हुने अपेक्षा गरिएको छ। विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका तथा शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ हुने आगन्तुकलाई यसबाट थप सहजता पुग्न सक्नेछ।
विद्युतीय सवारीसाधन पुनः सञ्चालनमा आएपछि लुम्बिनीमा वातावरणमैत्री यातायात सेवाको प्रवर्द्धन हुनुका साथै पर्यटकीय सेवा थप व्यवस्थित हुने विश्वास गरिएको छ। पेट्रोलियम पदार्थमा निर्भरता घटाउन र धार्मिक तथा पुरातात्त्विक महत्त्व बोकेको लुम्बिनी क्षेत्रको वातावरण संरक्षणमा समेत यसले सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
लुम्बिनी विकास कोषले प्रयोगविहीन अवस्थामा रहेका संरचना तथा स्रोतसाधनको सदुपयोग गर्दै आगन्तुकलाई उपलब्ध गराइने सेवा सुविधाको विस्तार र सुधारमा जोड दिएको छ। विद्युतीय सवारीसाधन पुनः सञ्चालनको पहललाई पनि लुम्बिनीको पर्यटन पूर्वाधार र आगन्तुकमैत्री सेवा विकास गर्ने प्रयासका रूपमा हेरिएको छ।

















