गृहपृष्ठ शिक्षकहरूको आन्दोलनको २० औं दिन: प्रधानमन्त्रीले गरे संवादको प्रस्ताव
शिक्षकहरूको आन्दोलनको २० औं दिन: प्रधानमन्त्रीले गरे संवादको प्रस्ताव
८ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बस्न आग्रह गरेका छन्। शिक्षकहरूको जायज माग पूरा गर्न सरकार तयार रहेको भन्दै उनले आन्दोलन अन्त्य गरी विद्यालय फर्कन पनि आह्वान गरेका हुन्।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “तुरुन्त वार्तामा आइदिनुहोस्, सहमति गरौं र शिक्षण कार्यमा फर्कौं। मेरो यो हार्दिक आग्रह हो।”
प्रधानमन्त्री ओलीले शिक्षकहरूको मागप्रति सरकार नकारात्मक नरहेको स्पष्ट पारे। उनले भने, “सरकार कुनै पनि जायज मागलाई अस्वीकार गर्ने पक्षमा छैन। सम्भव हुने सबै मागहरू पूरा गरिनेछ।”
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, सेवा स्थायीत्व लगायतका माग राख्दै सरकारी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरू शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। चैत २५ गतेदेखि त उनीहरूले आम शैक्षिक हड्ताल नै आह्वान गरेका छन्। यसका कारण वैशाखदेखि सुरु भएको विद्यार्थी भर्ना अभियान, एसईई उत्तरपुस्तिका परीक्षण लगायतका शैक्षिक गतिविधिहरू प्रभावित भएका छन्।
प्रधानमन्त्री ओलीले यो आन्दोलनले शिक्षकहरूलाई फाइदा नगरेको तर विद्यार्थी र अभिभावकलाई क्षति पुर्याएको बताए। “उहाँहरूले केही लाभ पाउनुभएको छैन। विद्यार्थीलाई घाटा छ, अभिभावकलाई पीडा छ,” उनले भने, “त्यसैले वार्तामा आइदिनुहोस्, सरकार तयार छ। सम्भव कुरा मिलाएर समाधान गरौं र आ–आफ्ना कार्यस्थलमा फर्कौं।”
यसअघि शिक्षक महासंघका नेताहरूले प्रधानमन्त्री, सभामुख, र शिक्षामन्त्रीसँग मागबारे छलफल गरे पनि सहमति नजुटेपछि आन्दोलन २० औं दिनसम्म जारी छ। प्रधानमन्त्री ओलीले शिक्षकहरूले औपचारिक वार्तामा नबस्ने भनाइप्रति आश्चर्य पनि व्यक्त गरे। उनले सोधे, “आन्दोलन गर्ने तर वार्ता नगर्ने भन्ने कुरा सुनेको छु, त्यो कस्तो अपत्यारिलो कुरा हो?”








